गैंडाकोटमा गण्डकी सहकारीको वित्तीय सचेतना तथा जीवनरक्षा अभिमुखीकरण सम्पन्न

गैंडाकोट, फागुन २९ । गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सदस्य तथा स्थानीय समुदायलाई लक्षित गर्दै सञ्चालन गरेको वित्तीय सचेतना, जोखिमपूर्ण अवस्थामा जीवनरक्षा तथा करेसावारी हरियाली कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

गैंडाकोट नगरपालिका भित्र रहेको संस्थाको मुख्य कार्यालय तथा छ वटा सेवा केन्द्र परिसरमा सञ्चालन गरिएको कार्यक्रम माघ २६ गतेदेखि सुरु भई फागुन २९ गते समापन भएको हो। विभिन्न चरणमा सञ्चालन गरिएको कार्यक्रममा एक हजार एक सयभन्दा बढी सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको संस्थाले जनाएको छ।

अभिमुखीकरण कार्यक्रममार्फत सहभागीहरूलाई व्यक्तिगत तथा पारिवारिक वित्तीय व्यवस्थापन कसरी सुदृढ बनाउने, बचत तथा लगानीमा कसरी सचेत रहने तथा आकस्मिक र जोखिमपूर्ण अवस्थामा आफू र अरूको जीवनरक्षा कसरी गर्ने भन्ने विषयमा आवश्यक ज्ञान, सीप र व्यवहारिक अभ्यास प्रदान गरिएको थियो।

कार्यक्रममा आकस्मिक दुर्घटना, आगलागी, प्राकृतिक विपद् तथा अन्य जोखिमपूर्ण अवस्थाहरूमा सुरक्षित रहने उपायहरूबारे समेत जानकारी गराइएको थियो। सहभागीहरूले यस्तो प्रशिक्षणले दैनिक जीवनमा उपयोगी व्यवहारिक ज्ञान प्राप्त भएको बताएका छन्।

यसैबीच कार्यक्रमसँगै सञ्चालन गरिएको करेसावारी हरियाली अभियान अन्तर्गत सहभागी सदस्यहरूलाई तरकारीका विभिन्न बीउहरू वितरण गरिएको थियो। यसबाट घरायसी उत्पादन बढाउने, वातावरण संरक्षणमा टेवा पुर्‍याउने तथा आत्मनिर्भर जीवनशैलीलाई प्रोत्साहन गर्ने सन्देश दिएको संस्थाले जनाएको छ।

कार्यक्रमको संयोजन गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गरेको हो। संस्थाले यस्ता सचेतनामूलक कार्यक्रमहरूले समुदायमा वित्तीय अनुशासन, सुरक्षित जीवनशैली तथा वातावरणीय जिम्मेवारीको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेको छ।

संस्थाले आगामी दिनहरूमा पनि सदस्य तथा समुदायलाई लक्षित गर्दै सचेतना, क्षमता विकास तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको