गैंडाकोट, चैत ०७ । गैंडाकोट नगरपालिकामा आधारभूत तह (कक्षा ८) र कक्षा ५ को नगरस्तरीय अन्तिम परीक्षा आइतबार बिहान ८ बजेदेखि सुरु हुने भएको छ। नगरपालिकाले परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएको छ।
शिक्षा अधिकृत रामप्रसाद अधिकारीका अनुसार परीक्षा सञ्चालनलाई व्यवस्थित र निष्पक्ष बनाउन सबै आवश्यक व्यवस्थापन सम्पन्न भइसकेको छ। साथै, चैत्र ६ गते नै केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण कार्यक्रममार्फत जिम्मेवारी र निर्देशन दिइसकिएको उहाँले जानकारी दिनुभयो।
यस वर्ष कक्षा ८ मा ८ सय ८ छात्र र ७ सय ३५ छात्रा गरी कुल १ हजार ५ सय ४३ विद्यार्थी सहभागी हुँदैछन्। प्रतिशतका आधारमा छात्र ५२ दशमलव ४ र छात्रा ४७ दशमलव ६ प्रतिशत रहेका छन्। उक्त तहमा १९ वटा सामुदायिक, १६ वटा संस्थागत र ४ वटा धार्मिक गरी कुल ३९ विद्यालयको सहभागिता रहनेछ। जसमध्ये ९ सय २९ विद्यार्थी सामुदायिक विद्यालयबाट र ६ सय १४ विद्यार्थी संस्थागत विद्यालयबाट सहभागी हुने जनाइएको छ।
त्यस्तै, कक्षा ५ तर्फ ४७ वटा विद्यालयका १ हजार ६ सय १६ विद्यार्थी परीक्षा दिँदैछन्। यसमा ८ सय ३३ छात्र र ७ सय ८३ छात्रा रहेका छन्। कक्षा ५ मा २९ वटा सामुदायिक र १८ वटा संस्थागत विद्यालयको सहभागिता रहनेछ।
कक्षा ८ को परीक्षा ९ वटा परीक्षा केन्द्रमार्फत सञ्चालन गरिनेछ भने केन्द्राध्यक्षसमेत तोकिसकिएको छ। शिक्षा अधिकृत अधिकारीले परीक्षा शान्त, अनुशासित र मर्यादित वातावरणमा सम्पन्न गर्न सबै पक्षलाई सहयोग गर्न आग्रह गर्नुभएको छ। साथै, विद्यार्थीलाई ढुक्क भएर परीक्षा दिन वातावरण मिलाइएको बताइएको छ।







