स्वर्गीय रमेश पाठकको स्मृतिमा गैंडाकोटमा रक्तदान कार्यक्रम, ३५ जनाद्वारा रक्तदान

गैंडाकोट, चैत्र ८। गैंडाकोट-२ शान्तिनगर टोल निवासी समाजसेवी स्वर्गीय रमेश पाठकको १३ औँ दिनको पुण्यतिथिको अवसरमा आयोजित रक्तदान कार्यक्रममा १४ महिलासहित ३५ जनाले रक्तदान गरेका छन्।

कार्यक्रमको उद्घाटन गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी ले गरेका थिए। उद्घाटन मन्तव्य राख्दै मेयर अधिकारीले स्वर्गीय पाठकको समाजसेवाप्रतिको योगदानको स्मरण गर्दै यस्तो पुण्य कार्यले समाजमा सकारात्मक सन्देश दिने उल्लेख गर्दै रक्तदान जीवनदान हो, यसले धेरैको ज्यान बचाउन सक्छ। स्वर्गीय रमेश पाठकज्यूको सम्झनामा गरिएको यो कार्य अत्यन्त प्रेरणादायी भएको उनले बताए।

कार्यक्रममा विशेष अतिथिका रूपमा बोल्दै वडा नं. २ का वडाध्यक्ष प्रकाश सापकोटा ले सामाजिक उत्तरदायित्वका यस्ता अभियानले समुदायलाई अझै एकताबद्ध बनाउने धारणा व्यक्त गरे। उनले स्वर्गीय पाठकको सामाजिक सक्रियताको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता मानवीय कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए। त्यसैगरी, चिकित्सक भोजराज अधिकारी ले रक्तदानको स्वास्थ्य र सामाजिक महत्त्वबारे जानकारी गराउँदै नियमित रक्तदान गर्न सबैलाई आग्रह गरे। उनले रक्तको अभावका कारण धेरै बिरामीले समस्या भोग्नुपरेको अवस्था छ, त्यसैले स्वस्थ व्यक्तिले समय-समयमा रक्तदान गर्नु आवश्यक रहेको आफ्नो मन्तव्यमा औलाए ।

कार्यक्रममा स्वर्गीय रमेश पाठकका बुबा बालानन्द पाठकले आफ्नो मन्तव्य राख्दै छोराको सम्झनामा गरिएको कार्यप्रति कृतज्ञता व्यक्त गरे। पाठक परिवारको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गैंडाकोट आदर्श उपशाखा, ब्लड डोनर सोसाइटी, नेपाल रक्तदाता समाज, शान्तिनगर टोल विकास संस्था तथा कौटन्य गोत्रीय पाठक समाज गैंडाकोटले सह-आयोजकका रूपमा भूमिका खेलेका थिए।

उक्त कार्यक्रमले स्वर्गीय पाठकप्रति श्रद्धाञ्जली अर्पण गर्दै समाजमा रक्तदानप्रतिको चेतना अभिवृद्धि गर्ने विश्वास लिइएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको