गैंडाकोट, नवलपरासी (ब.सु.प.), चैत १५ । गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठान ले ‘गैंडाकोट प्रज्ञा पुरस्कार-२०८२’ का लागि आवेदन आह्वान गरेको छ। प्रतिष्ठानले एक सूचना जारी गर्दै गैंडाकोट नगरपालिका क्षेत्रभित्र साहित्य, कला तथा संगीत क्षेत्रमा निरन्तर साधना गरिरहेका प्रतिभाबाट आवेदन माग गरेको हो।
सूचना अनुसार, यस वर्ष प्रदान गरिने पुरस्कारका लागि सम्बन्धित क्षेत्रका योग्य व्यक्तिहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक कागजातसहित निवेदन पेश गर्नुपर्नेछ। आवेदन पेश गर्ने अन्तिम मिति चैत २९ गते तोकिएको छ। प्रतिष्ठानका अनुसार पुरस्कारका विधा साहित्य तथा संगीत रहनेछन्। आवेदनका लागि नेपाली नागरिकताको प्रतिलिपि, व्यक्तिगत विवरण, निवेदन, पासपोर्ट साइज फोटो तथा सम्बन्धित क्षेत्रका थप प्रमाण कागजातहरू अनिवार्य गरिएको छ।
समयसीमा भित्र कागजात पेश नगरेमा त्यसको सम्पूर्ण जिम्मेवारी आवेदक स्वयंको हुने सूचनामा उल्लेख गरिएको छ। साथै, प्राप्त आवेदनहरूको अन्तिम निर्णय गर्ने अधिकार गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठान, प्रज्ञा परिषदमा निहित रहने जनाइएको छ। थप जानकारीका लागि प्रतिष्ठानले मोबाइल (व्हाट्सएप) नम्बर ९७४२८६४६१८ तथा इमेल gpratishthan@gmail.com मार्फत सम्पर्क गर्न सकिने जनाएको छ।
प्रतिष्ठानका कुलपति गोविन्दराज विनोदीद्वारा हस्ताक्षरित उक्त सूचनाले स्थानीय प्रतिभाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्दै सम्मानित हुने अवसर प्रदान गर्ने विश्वास गरिएको छ।







