गैँडाकोट, चैत्र १७ । गैँडाकोटस्थित मौलाकालिका मन्दिरमा धार्मिक सेवा समिति गठनका लागि चुनावी सरगर्मी तीव्र बनेको छ। कुल ५४ जनाको उम्मेदवारी दर्ता भएसँगै मन्दिर व्यवस्थापनको नेतृत्व चयन प्रक्रिया थप रोचक मोडमा पुगेको हो।
सबैभन्दा बढी चासोको विषय बनेको अध्यक्ष पदमा काशिनाथ कंडेल, खगराज कंडेल र श्यामसुन्दर पराजुलीबीच त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ। यस्तै, गुरुकुल व्यवस्थापन समिति अध्यक्षका लागि चुडामणि शर्मा कंडेल र शोभानाथ गौडेल (बद्री) चुनावी मैदानमा छन्।
बरिष्ठ उपाध्यक्ष पदमा केशवप्रसाद सापकोटा (बाबु) र सुवनप्रसाद ढकालबीच प्रतिस्पर्धा हुने भएको छ भने उपाध्यक्षमा डिल्लीप्रसाद पाठक र नेत्रप्रसाद अधिकारीले उम्मेदवारी दिएका छन्।
केही पदमा भने निर्विरोध चयनको सम्भावना देखिएको छ। सचिवमा राजेन्द्रप्रसाद गौडेल, कोषाध्यक्षमा नारायण सापकोटा र सह-कोषाध्यक्षमा केशवहरि पौडेलको एकल उम्मेदवारी परेको छ। सहसचिव पदमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ, जहाँ राधिका सापकोटा पाठक, देवकी मिश्र पौडेल र धना पौडेलबीच भिडन्त हुनेछ। साथै, कार्य समिति सदस्यका लागि २२ जनाको उम्मेदवारी परेको छ भने लेखा समिति संयोजकमा बाबुराम खनाल र इन्द्रविलास न्यौपाने प्रतिस्पर्धामा छन्।
निर्वाचन संयोजक ओमप्रसाद सापकोटाका अनुसार अझै पनि सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास जारी रहेको छ। “सम्भव भएसम्म सहमतिमा समिति गठन गर्ने पहल भइरहेको छ,” उनले बताए।
निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत्र १७ गते उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। चैत्र १८ गते दाबी। विरोधपछि सोही दिन साँझ अन्तिम नामावली सार्वजनिक हुनेछ। चैत्र १९ गते मतपत्रको नमुना प्रकाशन गरिनेछ भने चैत्र २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने तय गरिएको छ।
मतदान आवश्यक परेमा मन्दिरको कार्यालय परिसर (फेदी) मा मतदान केन्द्र स्थापना गरिनेछ। मौलाकालिका मन्दिरको धार्मिक तथा सामाजिक गतिविधिसँग प्रत्यक्ष जोडिएको यस निर्वाचनलाई स्थानीय स्तरमा विशेष महत्वका साथ हेरिएको छ ।







