गैंडाकोट, चैत्र १८ । नेपाल राष्ट्रिय बीमा अभिकर्ता सङ्घ नारायणघाट शाखा समितिको आयोजनामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नारायणघाट शाखा प्राङ्गणमा बुधबार खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
रक्तदान कार्यक्रममा १५ महिला सहित कुल ६६ जनाले रक्तदान गरेका थिए। शाखा समितिका अध्यक्ष विष्णुभक्त वाग्लेको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा बोल्दै उनले चितवनमा देखिएको रगत अभावलाई यस्ता कार्यक्रमहरूले केही हदसम्म सम्बोधन गर्ने विश्वास व्यक्त गरे। “रक्तदान जीवनदान हो, यस्तो मानवीय कार्यमा सबैको सहभागिता आवश्यक छ,” वाग्लेले भने।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्रिय बीमा अभिकर्ता सङ्घका राष्ट्रिय समिति सदस्य रामचन्द्र गौतमले बीमा क्षेत्र केवल विमितको आर्थिक सुरक्षामा सीमित नरही सामाजिक उत्तरदायित्वमा समेत उत्तिकै सक्रिय रहेको उल्लेख गरे। “बीमा कम्पनीहरूले समाजप्रति आफ्नो दायित्व बुझेर यस्ता गतिविधिमा अग्रसर हुनु सकारात्मक पक्ष हो,” उनले बताए।
कार्यक्रममा सङ्घका केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पौडेल, पार्वती कुमारी सापकोटा, सपुत चन्द्र खनाल, किरण ज्योति पौडेल, लक्ष्मी कण्डेल, भिमलाल अधिकारी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको संयोजन मुक्तिनाथ काप्रीले गरेका थिए।








