गोपेश्वर महादेव मन्दिर सेवा समितिको ३३औँ साधारण सभा सम्पन्न

गैंडाकोट, वैशाख २१ । गोपेश्वर महादेव मन्दिर बोल बमधाम शिवालय सेवा समिति गैंडाकोटको तेत्तीसौँ वार्षिक साधारण सभा सोमबार मन्दिर परिसरमा सम्पन्न भएको छ।

गैंडाकोट नगरपालिकाकी उपमेयर प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा बोल्दै उपमेयर कोइरालाले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा यस्ता संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले मन्दिर क्षेत्रको व्यवस्थित विकास, धार्मिक पर्यटन प्रवर्द्धन तथा स्थानीय समुदायको सहभागितामूलक योगदानले नगरको समग्र पहिचान मजबुत बन्ने धारणा व्यक्त गर्दै आफ्नो पालिकाबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता समेत जनाइन्।

सभामा आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन तथा आगामी नीति तथा कार्यक्रम सेवा समितिका सचिव नेत्र प्रसाद अधिकारीले प्रस्तुत गरेका थिए। त्यसैगरी, कोषाध्यक्ष कृष्णप्रसाद कोइरालाले चालु आर्थिक वर्षको आय-व्यय विवरण तथा आगामी वर्षका लागि प्रस्तावित बजेट सभा समक्ष प्रस्तुत गरेका थिए। लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा संयोजक गोपाल अधिकारीले प्रस्तुत गरेको सभामा सेवा समितिलाई विभिन्न समयमा सहयोग गर्ने दाता तथा आजीवन सदस्यहरूलाई सम्मानस्वरूप प्रमाणपत्र वितरण गरिएको थियो।

सेवा समितिका अध्यक्ष वेदप्रसाद गौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष गौडेलले मन्दिरको संरक्षण, पूर्वाधार विकास तथा धार्मिक गतिविधिहरूलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित संस्था अघि बढिरहेको बताउँदै उनले आगामी दिनमा स्थानीयवासी, दाता तथा सरोकारवालाहरूको सहकार्यबाट मन्दिरलाई धार्मिक आस्था केन्द्रका रूपमा अझ व्यवस्थित र आकर्षक बनाउने प्रतिबद्धता व्यक्त गरे ।

साभामा उपाध्यक्ष नारायण सुवेदीले उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य प्रस्तुत गरेको सभामा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, आजीवन सदस्य र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको