गैंडाकोट, वैशाख २१ । नेवा : देय दबु गैंडाकोट समितिले नेपाल संवतका प्रणेता एवं राष्ट्रिय विभूति शङ्खधर साख्वाःको शालिकसहित एक आकर्षक बाटिका स्थापना गर्ने योजना अघि बढाएको छ।
समितिका अनुसार श्री धार्मिक सेवा समिति मौलाकालिका मन्दिरले मन्दिर प्रवेशद्वार नजिकै गैंडाकोट-१ मा पर्ने आफ्नो मातहतको जग्गा उक्त बाटिका निर्माणका लागि उपलब्ध गराएको हो। प्रस्तावित स्थल धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएको छ।
समितिका अध्यक्ष शिवजंग श्रेष्ठका अनुसार पलेँटी कसेर ध्यानमग्न बुद्ध आकृतिमा शङ्खधर साख्वाःको पूर्णकदको मूर्ति स्थापना गरिनेछ। उनले मूर्ति निर्माण तथा जडानका लागि मात्रै करिब रु ७ लाख खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको जानकारी दिए। यो परियोजना केवल संरचना निर्माण मात्र होइन, हाम्रो इतिहास, संस्कृति र पहिचानको संरक्षण गर्ने अभियान भएको बताउँदै सम्पूर्ण धर्मप्रेमी तथा संस्कृतिप्रेमी महानुभावहरूलाई यस अभियानमा साथ दिन हार्दिक अपिल गरे ।
अध्यक्ष श्रेष्ठका अनुसार शङ्खधर साख्वाःको मूर्ति भने शङ्खधर साख्वाः प्रतिष्ठानले उपलब्ध गराउने जानकारी दिए।
यसैबीच, समितिका बयोवृद्ध तथा धार्मिक व्यक्तित्व ज्ञानुप्रसाद श्रेष्ठ लगायतले उक्त स्थानमा विधिवत् शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा बोल्दै बयोवृद्ध श्रेष्ठले शङ्खधर साख्वाःको योगदानलाई स्मरण गर्दै यस्ता संरचनाले नयाँ पुस्तालाई इतिहासप्रति सचेत गराउने विश्वास व्यक्त गर्दै हामीले पाएको मौलिक पहिचान र संस्कृतिलाई पुस्तान्तरण गर्न यस्ता कार्य अत्यन्त सहरानीय रहेको उनले बताए।
कार्यक्रममा समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो। सहभागीहरूले उक्त योजना गैंडाकोट क्षेत्रको सांस्कृतिक तथा धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।







