भृकुटी कागज कारखाना र श्रमिकको समस्या समाधान गर्न ५ दिने अल्टिमेटम

गैंडाकोट, वैशाख २१ । नवलपुरको गैंडाकोट नगरपालिका स्थित भृकुटी कागज कारखानाको व्यवस्थापन तथा श्रमिकहरूको बक्यौता पारिश्रमिक सम्बन्धी समस्या समाधान गर्न स्थानीय अभियानकर्ताहरूले सरकारसमक्ष ५ दिने अल्टिमेटम दिएका छन्।

 

सफा सुन्दर हरियाली गैंडाकोट निरन्तर शनिबार अभियान मार्फत प्रधानमन्त्रीको कार्यालयलाई बुझाइएको ज्ञापनपत्रमा लामो समयदेखि बन्द अवस्थामा रहेको उक्त कारखानाका करिब ३३३ जना श्रमिकले झण्डै ४० करोड रुपैयाँ बराबरको पारिश्रमिक नपाएको उल्लेख गरिएको छ। अभियानले उक्त रकम राज्यको पहलमा तत्काल उपलब्ध गराउन माग गरेको छ।

ज्ञापनपत्रमा २०४० सालतिर स्थापना भई सञ्चालनमा आएको कारखाना २०७६ सालदेखि पूर्ण रूपमा बन्द भएको जनाइएको छ। राज्य स्वामित्वबाट निजी क्षेत्र (गोल्छा समूह) मा हस्तान्तरण गरिएको उक्त उद्योग हाल जीर्ण अवस्थामा पुगेको र यसको असर स्थानीय बस्तीमा समेत परेको उल्लेख छ। उद्योग क्षेत्र वरिपरि बसोबास गर्ने नागरिकहरू धुलो, वायु प्रदूषण तथा जीर्ण संरचनाका कारण त्रासमा बाँच्न बाध्य भएको पनि पत्रमा उल्लेख गरिएको छ।

अभियानले गैंडाकोट नगरपालिका क्षेत्रभित्र रहेको करिब ६० बिघा जग्गाको उचित व्यवस्थापन गरी कृषि, उद्योग वा नमुना व्यवस्थित बजारका रूपमा विकास गर्न स्पष्ट योजना बनाई कार्यान्वयन गर्न पनि सरकारसँग माग गरेको छ। उनीहरूका अनुसार यस्तो महत्वपूर्ण क्षेत्र लामो समयदेखि प्रयोगविहीन हुँदा नगरको समग्र विकास, सुन्दरता र समृद्धिमा नकारात्मक असर परेकोछ।

 

ज्ञापनपत्रमा तोकिएको ५ दिनभित्र माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनी दिइएको छ। “हाम्रो उद्देश्य द्वन्द्व सिर्जना गर्नु नभई गैंडाकोटलाई सफा, सुन्दर, हरियाली र समृद्ध बनाउनु हो,” अभियानले जनाएको छ।

उक्त ज्ञापनपत्र गैंडाकोट नगरपालिका, जिल्ला प्रशासन कार्यालय कावासोती, जिल्ला प्रहरी कार्यालय कावासोती, भृकुटी कागज कारखाना (गोल्छा कम्पनी) र वडा नं. २ को कार्यालयमा समेत बोधार्थ पठाइएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको