गण्डकी सकोसले गर्यो विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण

गैंडाकोट, वैशाख २५ । गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड को आयोजनामा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गैंडाकोट नगरपालिकाका १० वटा सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर तथा जेहेन्दार १० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ।

संस्थाको कार्यालय परिसरमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष गोबिन्द सुबेदीको अध्यक्षता तथा गैंडाकोट नगरपालिका शिक्षा शाखा का प्रमुख श्री खेमप्रसाद आचार्यको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा छात्रवृत्ति स्वरूप विद्यार्थीहरूलाई नगद, विद्यालय पोशाक तथा विभिन्न शैक्षिक सामग्री प्रदान गरिएको थियो ।

 

संस्थाका सचिव श्री केशवराज शर्माले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष श्री केदारनाथ न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए। विद्यालयका प्रतिनिधिको तर्फबाट मन्तव्य राख्दै लक्ष्मीदत्त आचार्यले सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थी छनोट गरी छात्रवृत्ति वितरण गर्नु उदाहरणीय सामाजिक कार्य भएको उल्लेख गर्दै उनले सहकारी संस्थाले शिक्षा क्षेत्रमा गरेको योगदानले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका सल्लाहकार श्री पोषणराज सुवेदीले सहकारी संस्था केवल आर्थिक कारोबारमा सीमित नभई समाजप्रति उत्तरदायी संस्था भएको बताउँदै विगतदेखि नै संस्थाले विभिन्न सामाजिक तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको स्मरण गरे । कार्यक्रमका अध्यक्ष गोबिन्द सुबेदीले शिक्षा नै दिगो विकासको आधार भएको उल्लेख गर्दै आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी शिक्षाबाट वञ्चित हुन नहुने र सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी दिनमा पनि छात्रवृत्ति, शैक्षिक सहयोग तथा समुदायमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

प्रमुख अतिथि तथा नगर शिक्षा शाखा प्रमुख खेमप्रसाद आचार्यले शिक्षा क्षेत्रको विकासका लागि सहकारी संस्थाहरूको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले विपन्न विद्यार्थीको भविष्य निर्माणमा सहयोग पुग्ने र गुणस्तरीय शिक्षाको पहुँच विस्तारमा सहकारी संस्थाको सहभागिता हुने धारणा व्यक्त गरे ।

संस्थाका सल्लाहकार पोषणराज सुवेदीले सहकारी संस्थाले सामाजिक सेवामार्फत समुदायमा सकारात्मक छवि निर्माण गरेको उल्लेख गर्दै उनले शिक्षा क्षेत्रमा गरिएको लगानीले दीर्घकालीन रूपमा समाज परिवर्तनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा तथा सुपरिवेक्षण समितिका सदस्य, सहकारीका सल्लाहकार, विभिन्न उपसमितिका सदस्य तथा विद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको