गैंडाकोट, वैशाख ३० । स्वर्गीय टंकप्रसाद आचार्यको जीवन सङ्घर्ष, सामाजिक योगदान र सफलताको यात्रालाई समेटिएको पुस्तक ‘टंकको टंकण’ मंगलबार गैंडाकोटमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ।
विसं १९९३ भदौ ४ गतेदेखि २०८२ जेठ ९ गतेसम्मको व्यक्तिगत जीवनी, पारिवारिक यात्रा तथा समकालीन इतिहास समेटिएको उक्त पुस्तक वरिष्ठ साहित्यकार गोविन्दराज बिनोदीले सार्वजनिक गरेका हुन्। पुस्तक सार्वजनिक गर्दै बिनोदीले स्वर्गीय आचार्यलाई सादा जीवन, उच्च विचार र समाजप्रति समर्पित व्यक्तित्वका रूपमा स्मरण गरे। उनले आचार्यको जीवन नयाँ पुस्ताका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै उनका अनुभव र सङ्घर्षलाई पुस्तकमार्फत दस्तावेजीकरण गर्नु महत्वपूर्ण कार्य भएको बताए। कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले स्वर्गीय आचार्य समाजमा मिलनसार, सहयोगी र जिम्मेवार अभिभावकका रूपमा परिचित रहेको बताए। उहाँले समाजलाई जोड्ने काम गर्नुभयो, उहाँको जीवन समाजका लागि उदाहरणीय छ, उनले भने।
कार्यक्रममा स्वर्गीय आचार्यका छोरा किशोर आचार्यले बुबासँगका संस्मरण सुनाउँदै कठिन परिस्थितिमा पनि परिवार र समाजलाई सँगै लिएर अघि बढ्ने बुबाको बानी आफूहरूका लागि मार्गदर्शन बनेको बताए। बुबाले हामीलाई सम्पत्तिभन्दा पनि इमानदारी, अनुशासन र मेहनतको शिक्षा दिनुभयो, उनले भावुक हुँदै उल्लेख गरे।
आचार्यको प्रथम वार्षिकीको अवसर पारेर उनका नौ छोरा र दुई छोरीले संयुक्त रूपमा करिब २०० पृष्ठको उक्त पुस्तक प्रकाशन गरेका हुन्। पुस्तकलाई लेखन कुञ्ज थापागाउँ काठमाडौंले प्रकाशन गरेको हो। पुस्तकका लेखक स्वयं स्वर्गीय टंकप्रसाद आचार्यले अन्तिम समयसम्म लेखेका पाण्डुलिपिहरूलाई आकार दिइएको हो। पुस्तकको सम्पादन चाहना श्रेष्ठले गरेकी हुन्। कार्यक्रममा राजनीतिज्ञ, समाजसेवी, विभिन्न सङ्घसंस्थाका पदाधिकारी, आचार्य परिवारका सदस्य तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण शंकर अधिकारीले गरेका थिए।








