भरतपुर, ३१ वैशाख । भरतपुरस्थित अर्किड स्कुलले नयाँ शैक्षिक सत्र २०८३ को सुरुवातसँगै नयाँ भर्ना भएका विद्यार्थीलाई विशेष कार्यक्रमका बीच स्वागत गरेको छ ।
विद्यालयले सांस्कृतिक प्रस्तुति, प्रेरणादायी मन्तव्य तथा ‘मुना’ बालपत्रिका वितरणमार्फत नयाँ विद्यार्थीलाई स्वागत गरेको हो ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले नै गीत, नृत्य तथा स्वागत मन्तव्य प्रस्तुत गर्दै नवप्रवेशी छात्रछात्रालाई उत्साहपूर्वक स्वागत गरेका थिए । सोही अवसरमा विद्यालयले पठन संस्कृतिको विकास र निरन्तर अध्ययन बानीको प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ भर्ना भएका विद्यार्थीलाई ‘मुना’ बालपत्रिका हस्तान्तरण गरेको जनाएको छ ।
विद्यालयकी शिक्षिका मीरा आचार्यका अनुसार विद्यालयले बालबालिकामा पठन अभ्यास, सिर्जनात्मकता तथा समालोचनात्मक सोचको विकास गराउने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । `जन्मदिनको अवसरमा मुना हस्तान्तरण, विद्यालय स्मारिका प्रकाशन तथा ‘बड्स टु ब्लुम’ कार्यक्रममार्फत पुस्तक समीक्षा जस्ता गतिविधि नियमित रूपमा सञ्चालन भइरहेका छन्´, उनले बताइन् ।
बिहीबार आयोजित कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक आकास पौडेलले करिब २०० जना नवआगन्तुक विद्यार्थीलाई टीका लगाइ मुना बालपत्रिका वितरण गरेका थिए । कार्यक्रममा सह–प्राचार्य पुरुषोत्तम दवाडीले संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्नु विद्यालयको प्रमुख उद्देश्य रहेको उल्लेख गर्दै विद्यार्थीको शैक्षिक तथा व्यक्तिगत विकासका लागि विद्यालय सदैव प्रतिबद्ध रहने बताए ।
‘मुना’ गोरखापत्र संस्थानबाट प्रकाशित चर्चित बालपत्रिका हो । नेपाली बालसाहित्य क्षेत्रमा लामो इतिहास बोकेको यो पत्रिका बालबालिकाको ज्ञान, सिर्जनशीलता, भाषा विकास तथा नैतिक शिक्षाका लागि उपयोगी मानिन्छ । मुनामा कथा, कविता, चित्रकथा, विज्ञान, सिर्जनात्मक लेख, बालप्रतिभाका सामग्री तथा ज्ञानवर्धक सामग्री प्रकाशित हुने गर्छन् ।
नेपालका धेरै विद्यालयले विद्यार्थीमा पढ्ने बानी विकास गर्न मुना अध्ययनलाई प्रोत्साहन गर्ने गरेका छन् । बालबालिकामा पुस्तकप्रतिको रुचि बढाउने, भाषा शुद्धता सिकाउने र सिर्जनात्मक सोच विस्तार गर्ने माध्यमका रूपमा मुनालाई विशेष महत्वका साथ हेरिन्छ ।







