महँगीका कारण निर्माण कार्य ठप्प हुने चेतावनी, निर्माण व्यवसायी सङ्घद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

कावासोती, जेठ १ । निर्माण सामग्री, डिजेल तथा विभिन्न उपकरणको मूल्य अत्यधिक वृद्धि हुँदा निर्माण क्षेत्र गम्भीर संकटमा परेको भन्दै निर्माण व्यवसायी सङ्घ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

निर्माण व्यवसायी सङ्घका अध्यक्ष हेमशंकर देवकोटाको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा पछिल्लो समय डिजेल, बिटुमिन लगायत निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढ्दा निर्माण व्यवसाय धराशायी बन्दै गएको उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार रुस–युक्रेन युद्धअघि प्रतिलिटर १ सय ३९ रुपैयाँ रहेको डिजेलको मूल्य हाल बढेर करिब २ सय २५ रुपैयाँ पुगेको छ भने बिटुमिनको मूल्य पनि प्रतिकेजी ७५ रुपैयाँबाट बढेर १ सय ५५ रुपैयाँ पुगेको जनाइएको छ । मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरूलाई करिब १० अर्ब रुपैयाँभन्दा बढी नोक्सानी पुगेको दाबी गरिएको छ ।

सङ्घले सरकारले निर्माण कार्यमा मूल्य समायोजनको व्यवस्था प्रभावकारी रूपमा लागू नगरेको गुनासो गर्दै सार्वजनिक खरिद नियमावली तथा विद्यमान कानुनी व्यवस्थाअनुसार निर्माण व्यवसायीलाई राहत दिन माग गरेको छ ।

नेपाल निर्माण व्यवसायी महासङ्घले यसअघि नै सरकारलाई अल्टिमेटम दिँदै मूल्य समायोजनको व्यवस्था गर्न माग गरेको भए पनि हालसम्म ठोस निर्णय नभएकाले देशभर सञ्चालनमा रहेका विभिन्न निर्माण आयोजनाहरू प्रभावित बनेको सङ्घको भनाइ छ ।

ज्ञापनपत्रमार्फत हालको परिस्थितिमा पुरानो दररेटमा काम गर्न नसकिने अवस्था सिर्जना भएको उल्लेख गर्दै सरकारले मूल्य समायोजनको नीति अविलम्ब लागू नगरे निर्माण कार्य स्वतः बन्द हुने चेतावनीसमेत दिइएको छ ।

साथै, निर्माण व्यवसायीहरू आर्थिक तथा मानसिक दबाबमा परेको उल्लेख गर्दै बैंक ग्यारेन्टी जफत नगर्न, आयोजनाको म्याद थप गर्न र थप बजेट व्यवस्थापन गर्नसमेत सरकारसँग माग गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको