गैंडाकोट, जेठ १ । गैंडाकोट नगरपालिकाको सहयोगमा गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित एडभान्स गायन तथा संगीत तालिम शुक्रबारदेखि सुरु भएको छ । एक महिनासम्म सञ्चालन हुने तालिममा ३३ जना प्रशिक्षार्थी सहभागी भएका छन् ।
तालिमको उद्घाटन गर्दै गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे ले संगीत र कला व्यक्तिको प्रतिभा उजागर गर्ने महत्वपूर्ण माध्यम भएको बताए । उनले तालिमले सहभागीलाई गायन तथा संगीत क्षेत्रमा दक्ष बनाउँदै आत्मनिर्भर बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
“सीपलाई केवल सिकाइमा सीमित नराखी व्यावसायिक रूपमा पनि अघि बढाउनुपर्छ,” उनले भने, “यस्ता तालिमले स्थानीय प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुर्याउन मद्दत गर्छ ।”
जेठ १ गतेदेखि सुरु भएको तालिम जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ । तालिममा आधारभूतदेखि एडभान्स तहसम्म गायन तथा संगीत प्रशिक्षण दिइने प्रज्ञाप्रतिष्ठानका संगीत विभाग प्रमुख तथा तालिम संयोजक अमर विरही गुरुङ ले जानकारी दिए ।
उनका अनुसार प्रशिक्षार्थीलाई मादल, हार्मोनियमलगायत विभिन्न बाजा सम्बन्धी प्रशिक्षणसमेत प्रदान गरिनेछ । “अनुशासन, मेहनत र निरन्तर अभ्यासले मात्रै सफलता सम्भव हुन्छ,” उनले भने, “प्रशिक्षार्थीमा देखिएको उत्साहले कार्यक्रम अझ प्रभावकारी बन्ने विश्वास लिएको छु ।”
कार्यक्रमका सभापति तथा प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी ले संगीत र कला समाजको सांस्कृतिक पहिचानसँग जोडिएको उल्लेख गर्दै सहभागीलाई आफ्नो प्रतिभा निखार्न आग्रह गरे ।
प्रज्ञाप्रतिष्ठानका उपकुलपति भीमप्रसाद शर्मा ले अघिल्लो वर्षको सफलतापछि प्रशिक्षार्थीकै मागअनुसार यस वर्ष पनि तालिम सञ्चालन गरिएको बताए । उनले स्थानीय लोकभाका, गीत तथा बाजाको संरक्षण र प्रवर्द्धनमा तालिमले महत्वपूर्ण योगदान पुर्याउने धारणा राखे ।
प्राज्ञ सभा सदस्य लेखराम सापकोटा ले प्रज्ञाप्रतिष्ठानले भाषा, साहित्य, कला र संगीतका क्षेत्रमा निरन्तर रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे । उनले यस्ता तालिमले नयाँ कलाकार र सर्जक उत्पादन गर्न मद्दत पुग्ने बताए ।
तालिममा चन्द्र घले र सुरज बज्राचार्य प्रशिक्षकका रूपमा रहेका छन् । उद्घाटन कार्यक्रमको सहजीकरण गैंडाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख तथा प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव रामप्रसाद अधिकारी ले गरेका थिए ।







