गैँडाकोट, जेठ २०८३ । नवलपुरको गैँडाकोट-२ स्थित जिल्लाकै एकमात्र ‘क’ वर्गको विद्यालय गैँडाकोट इङ्लिस स्कुल ले एसइई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको अवसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने सम्पूर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको थियो भने ४.०० जिपिए प्राप्त गरेकी छात्रा तेजस्वी पन्त लाई विद्यालयले पूर्वघोषणाअनुसार १ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो।
विद्यालयले यसअघि नै एसइई परीक्षामा ४.०० जिपिए ल्याउने विद्यार्थीलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो। छात्रा पन्तले आफ्नो मेहनत, लगनशीलता र आत्मविश्वासका बलमा उक्त उपलब्धि हासिल गरेपछि विद्यालयले विशेष सम्मानसहित पुरस्कार प्रदान गरेको जनाएको छ।
सम्मान कार्यक्रममा विद्यालयका प्राचार्य हिरालाल अर्याल, गैँडाकोट नगरपालिकाका नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्य लगायतले छात्रा पन्तलाई सम्मान तथा बधाई ज्ञापन गरेका थिए।
कार्यक्रममा बोल्दै प्राचार्य अर्यालले विद्यालयले केवल शैक्षिक नतिजामा मात्र नभई अनुशासन, संस्कार र गुणस्तरीय शिक्षालाई समेत प्राथमिकतामा राख्दै आएको बताए। उनले विद्यार्थीहरूको सफलता विद्यालय, अभिभावक र शिक्षकहरूको साझा मेहनतको परिणाम भएको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी नगर शिक्षा अधिकारी आचार्यले विद्यार्थीहरू केवल पढाइमा मात्र अब्बल भएर नपुग्ने उल्लेख गर्दै नैतिकवान, जिम्मेवार र अनुशासित नागरिक बन्न आवश्यक रहेको धारणा राखे। उनले असल चरित्र, सकारात्मक सोच र सामाजिक उत्तरदायित्व बोकेका विद्यार्थी उत्पादन गर्नु नै शिक्षाको मुख्य उद्देश्य भएको बताए।
कार्यक्रममा एसइई २०८२ मा सफलता हासिल गरेका अन्य विद्यार्थीहरूलाई समेत सम्मान गरिएको थियो। उक्त अवसरमा अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालय प्रशासनले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा र उत्कृष्ट शैक्षिक उपलब्धिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।







