अभियान कृषि सहकारीको प्रथम साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

गैँडाकोट, जेठ ३ । गैँडाकोटमा रहेको अभियान कृषि सहकारी संस्था लिमिटेड गैँडाकोटले विशेष परिस्थितिबीच आफ्नो प्रथम साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न गरेको छ।

गैँडाकोट नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष प्रेम सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै उनले कृषि तथा सहकारी क्षेत्रलाई स्थानीय उत्पादन र आत्मनिर्भर अर्थतन्त्रसँग जोड्न आवश्यक रहेको बताए। सहकारीमार्फत कृषकहरूको आयआर्जन वृद्धि तथा उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित गैँडाकोट नगरपालिकाका सहकारी प्रमुख देवेन्द्र गौतमले सहकारी संस्थाहरूले सदस्यको विश्वास जित्दै पारदर्शी र उत्तरदायी ढंगले काम गर्नुपर्ने बताएका थिए। उनले कृषि सहकारीहरूले स्थानीय कृषकलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखे। संस्थाका अध्यक्ष राजु सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले सहकारीलाई कृषकमैत्री संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। सहकारीले आगामी दिनमा कृषि उत्पादन, बीउबिजन वितरण तथा सदस्यको आर्थिक सशक्तीकरणका क्षेत्रमा विशेष योजना अघि बढाउने बताए।

सभामा वार्षिक कोषाध्यक्ष प्रतिवेदन, नीति तथा कार्यक्रमसम्बन्धी सचिव प्रतिवेदन तथा लेखा सुपरिवेक्षण प्रतिवेदन अनुमोदनका लागि प्रस्तुत गरिएको थियो। कार्यक्रममा वेदप्रसाद गौडेल, झलक काजी पौडेल, नेत्र नारायण सिग्देललगायत अतिथिहरूको उपस्थिति रहेको थियो।

 

सहकारीले सभामा सहभागी आफ्ना सदस्यहरूलाई तरकारीजन्य बीउबिजन समेत वितरण गरेको थियो। नवराज सापकोटा ‘नवीन’को संयोजकत्व तथा विष्णुमाया पन्थी र टेकराज अधिकारी सदस्य रहेको निर्वाचन समितिले ढकबहादुर कार्कीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा गुणाखर रेग्मी, सचिवमा सुजन अधिकारी, कोषाध्यक्षमा अञ्जु न्यौपाने, सहसचिवमा कमल नारायण न्यौपाने तथा सदस्यहरूमा नेत्रनारायण सिग्देल, भक्तिराम अर्याल, पवित्रा सिग्देल र सिर्जना अर्याल चयन भएका छन्। त्यसैगरी, लेखा सुपरिवेक्षण समितिको संयोजकमा प्रदीप चौधरी तथा सदस्यहरूमा अर्जुन पराजुली र चोभाकुमारी सुवेदी चयन भएका छन्।

संस्थाका सचिव अर्जुन पराजुलीले सहजीकरण गरेको कार्यक्रममा उपाध्यक्ष गुणाखर रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको