नवलपुर, जेठ ३ । जिल्ला प्रहरी कार्यालय नवलपुरले देवचुली नगरपालिका- १६ रजहर क्षेत्रमा सवारी साधन चेकजाँचका क्रममा ठूलो परिमाणमा अवैध सामान बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार आइतबार बिहान करिब ९ः३० बजे बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको प्र.०३०३-००१ ख ३८२६ नम्बरको ट्रकलाई रोकी जाँच गर्दा बिना बिल भरपाइका विभिन्न सामग्री फेला परेको हो।
उक्त ट्रक चालक भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका–८ निवासी ३० वर्षीय सजेन्द्र मचामसी रहेको प्रहरीले जनाएको छ। बरामद सामानसहित चालक र ट्रकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले बरामद गरेका सामानहरूमा ‘Air Pods Pro’ लेखिएका ७ सय थान एयरबड, विभिन्न कम्पनीका मोबाइल ग्लास १ हजार ६ सय ८० प्याकेट, ‘Series 9’ र ‘Ultra 91’ लेखिएका २ सय ५ थान स्मार्टवाच, ‘Baoting BF 888S’ लेखिएका ६८ सेट पोर्टेबल टु–वे रेडियो (हेन्डसेट), ‘Nike’ लेखिएका ६५ जोर जुत्ता, ‘Birhers Fock’ लेखिएका ३ सय ७४ जोर चप्पल तथा ७ हजार थान वाटरप्रुफ मोबाइल पाउच रहेका छन्।
बरामद सामानको अनुमानित मूल्य १८ लाख १५ हजार ३ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ। साथै ट्रकको अनुमानित मूल्य ४० लाख रुपैयाँ रहेको र सामान तथा सवारी साधनसहित कुल मूल्य ५८ लाख १५ हजार ३ सय रुपैयाँ बराबर रहेको बताइएको छ।








