गैंडाकोटमा निःशुल्क बाद्यवादन तालिम सुरु

गैंडाकोट, जेठ ७ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैंडाकोटमा निःशुल्क बाद्यवादन तालिम सुरु गरिएको छ। गैंडाकोट नगरपालिका वडा नं. ५ स्थित मातृभूमि टोल विकास संस्थाको आयोजनामा टोलका सदस्यहरूका लागि एक महिने तालिम सञ्चालन गरिएको हो।

 

टोल विकास संस्थाभित्र आयोजना हुने भजन–कीर्तन तथा विभिन्न सांगीतिक कार्यक्रमहरूमा स्थानीय सदस्यहरूको सक्रिय सहभागिता र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटाले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा प्रयोग गर्न आग्रह गरे। उनले तालिममा सहभागीहरूले आफूले सिकेको ज्ञान अन्य सदस्यहरूलाई पनि सिकाएर समुदायमा सांगीतिक सीप विस्तार गर्नुपर्नेमा जोड दिए। साथै टोल विकास संस्थाले आयोजना गर्ने सांगीतिक कार्यक्रमहरूमा समेत सीपको उपयोग गर्न आग्रह गरे।
मातृभूमि टोल विकास संस्थाकी अध्यक्ष बिन्दु सापकोटा लामिछानेले तालिमलाई गम्भीरतापूर्वक लिएर दक्ष बन्न सहभागीहरूलाई आग्रह गरिन्। कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक केशवप्रसाद सापकोटाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा मातृभूमि महिला कृषि समूहकी अध्यक्ष राधा कण्डेल, संस्थापक कोषाध्यक्ष कृष्ण ज्ञवालीलगायत टोलवासीहरूको उपस्थिति रहेको थियो।

 

संस्थाका कोषाध्यक्ष कृष्ण काफ्लेले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण सहसचिव विष्णु सापकोटा रिमालले गरेका थिए। एक महिने तालिममा २० जनाको सहभागिता रहेको छ भने प्रशिक्षकका रूपमा रविलाल सापकोटा रहेका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको