चौथो गैंडाकोट महोत्सवको आर्थिक प्रतिवेदन सार्वजनिक, ३४ हजार बचत ४१ लाख बढी रकम उठ्न बाँकी

गैंडाकोट, जेठ १२ । चौथो गैंडाकोट महोत्सव २०८२ को आर्थिक प्रतिवेदन पत्रकार भेटघाट कार्यक्रममार्फत सार्वजनिक गरिएको छ। गत पौष २५ गतेदेखि माघ १० गतेसम्म सञ्चालन भएको महोत्सवको आम्दानी तथा खर्चको विस्तृत लेखापरीक्षण विवरण आयोजकले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।

सार्वजनिक प्रतिवेदनअनुसार महोत्सव अवधिभर कुल ६५ लाख ७६ हजार ६ सय २६ रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ। आम्दानीका प्रमुख स्रोतमा स्टल बिक्री, टिकट बिक्री, बाल उद्यान सञ्चालन, विभिन्न प्रायोजक तथा नेपाल सरकारबाट प्राप्त सहयोग रहेका छन्। कुल आम्दानीमध्ये २४ लाख ६१ हजार ८ सय ६५ रुपैयाँ नगद संकलन भएको छ भने ४१ लाख १४ हजार ७ सय ६१ रुपैयाँ बोलकबोल अर्थात् उठ्न बाँकी रहेको उल्लेख गरिएको छ।

महोत्सव सञ्चालनका लागि कुल २४ लाख १६ हजार २१ रुपैयाँ ५१ पैसा खर्च भएको प्रतिवेदनमा जनाइएको छ। कर्मचारी तलब, इन्धन, प्रचारप्रसार, मञ्च व्यवस्थापन, सुरक्षा व्यवस्थालगायत २४ वटा शीर्षकमा उक्त रकम खर्च गरिएको आयोजकले जनाएको छ। खर्चतर्फ अतिथि सत्कारमा सबैभन्दा बढी ३ लाख ३६ हजार रुपैयाँ तथा जलपानमा २ लाख १ हजार रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरिएको छ।

नगद आम्दानी र कुल खर्चको आधारमा कर कट्टा गर्नुअघि ४५ हजार ८ सय ४४ रुपैयाँ नाफा भएको देखिएको छ। नियमानुसार २५ प्रतिशत कर कट्टा गरेपछि महोत्सवको खुद नगद बचत ३४ हजार ३ सय ८३ रुपैयाँ कायम भएको प्रतिवेदनमा उल्लेख छ।

पत्रकार सम्मेलनमा बोल्दै जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष छबिलाल कँडेल ले आर्थिक मन्दीका बीच पनि महोत्सवले स्थानीय व्यापार, व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए।

उनले नगद बचत न्यून देखिए पनि महोत्सवले समग्र गैंडाकोटको आर्थिक गतिविधिलाई चलायमान बनाउन ठूलो भूमिका खेलेको उल्लेख गर्दै उठ्न बाँकी ४१ लाख रुपैयाँ संकलनका लागि ताकेता भइरहेको जानकारी दिए। उक्त रकम संकलन भएसँगै महोत्सवको कुल बचत करिब ४१ लाख ६० हजार रुपैयाँ पुग्ने र त्यसलाई सामाजिक क्षेत्रमा लगानी गरिने उनले बताए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको