काठमाडौं, जेठ १७ । देशभरका उत्कृष्ट कृषकहरूलाई सम्मान गर्ने क्रममा सरकारले यस वर्ष १४ जना किसानलाई राष्ट्रिय उत्कृष्ट किसान पुरस्कार प्रदान गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले जनही दुई लाख रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गर्दै कृषकहरूलाई सम्मान गर्नुभएको हो ।
कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका कृषकहरूलाई प्रदेशगत रूपमा छनोट गरी सम्मान गरिएको हो। सम्मानित हुने कृषकमध्ये गण्डकी प्रदेश, नवलपुरको गैंडाकोट नगरपालिका-८ स्थित विधान कृषि फार्मका सञ्चालक तथा अग्रणी कुखुरापालक कृषक गोविन्दप्रसाद आचार्य पनि रहेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै कृषिलाई आधुनिक, व्यवसायिक र आत्मनिर्भर बनाउने दिशामा राज्यले दीर्घकालीन नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो। उहाँले कृषिमा युवाको आकर्षण बढाउन नवीन प्रविधि, बजार सुनिश्चितता र उत्पादनमा आधारित प्रोत्साहनका कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। सम्मान ग्रहणपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै कृषक गोविन्दप्रसाद आचार्यले राज्यबाट प्राप्त सम्मानले आफूलाई थप जिम्मेवार र उत्साहित बनाएको बताउनुभयो। “यो सम्मान केवल मेरो व्यक्तिगत उपलब्धि होइन, कृषि क्षेत्रमा निरन्तर संघर्ष गरिरहनुभएका सम्पूर्ण किसानहरूको सम्मान हो। यसले आगामी दिनमा अझ गुणस्तरीय उत्पादन र कृषि क्षेत्रमा योगदान दिन प्रेरणा दिएको छ,” उहाँले भन्नुभयो।
कृषि पेशालाई सम्मानित र आकर्षक बनाउने उद्देश्यसहित प्रदान गरिएको यस पुरस्कारले देशभरका किसानमा नयाँ उत्साह र आत्मविश्वास थप्ने विश्वास गरिएको छ।







