गैँडाकोट, जेठ १६ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिका-१५ चिन्तामणी टोलमा घरायसी विवादका क्रममा बाबुले खुर्पा प्रहार गर्दा छोराको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार शनिबार राति करिब १० बजे स्थानीय ६३ वर्षीय डम्बर गिरीले आफ्नै छोरा ४३ वर्षीय शंकर गिरीमाथि धारिलो हतियार (खुर्पा) प्रहार गरेका थिए। टाउकोमा लागेको गम्भीर चोटका कारण घाइते भएका शंकरलाई तत्काल उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज पठाइएको थियो।
उपचारकै क्रममा राति करिब १०ः४५ बजे चिकित्सकले शंकरलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनामा प्रयोग गरिएको खुर्पा बरामद गर्नुका साथै आरोपित डम्बर गिरीलाई नियन्त्रणमा लिएको जनाएको छ।
घटनाको कारण घरायसी विवाद रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।







