रास्वपा नवलपुरको प्रथम जिल्ला अधिवेशन जेठ २४ मा, सभापतिका लागि सापकोटासहित चार नेताको दाबेदारी

नवलपुर, जेठ २१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको ऐतिहासिक प्रथम जिल्ला अधिवेशन आगामी जेठ २४ गते कावासोतीमा हुने भएको छ। केन्द्रीय कार्यतालिका अनुसार आयोजना हुन लागेको अधिवेशनले जिल्लाको नयाँ नेतृत्व चयन गर्ने भएकाले यतिबेला पार्टीभित्र चुनावी माहोल तातेको छ।

 

अधिवेशन नजिकिँदै जाँदा जिल्ला सभापति पदका लागि आकांक्षी नेताहरूको दौडधुप र आन्तरिक लबिइङ तीव्र बनेको छ। सभापति पदका लागि गोकुल सापकोटा बलिया दाबेदारका रूपमा अगाडि देखिनुभएको छ। पार्टी संगठन निर्माण तथा विस्तारमा सक्रिय भूमिका निर्वाह गर्नुभएका सापकोटाले कार्यकर्ता र प्रतिनिधिहरूमाझ राम्रो समर्थन जुटाएको बताइन्छ।
स्थानीय तहसम्म पार्टीको संगठन विस्तार र सुदृढीकरणमा योगदान पुर्‍याएकाले सापकोटाको उम्मेदवारीलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि, सभापति पदका लागि उहाँ एक्ला प्रतिस्पर्धी भने हुनुहुन्न।
सभापति पदका लागि दोमन भण्डारी, नरिश्वर लामिछाने र कृष्ण गौतमले पनि आफ्नो दाबेदारी प्रस्तुत गर्दै आन्तरिक छलफल तथा समर्थन जुटाउने अभियानलाई तीव्र बनाएका छन्। जिल्लाका विभिन्न क्षेत्र र स्थानीय तहमा प्रभावशाली मानिएका यी नेताहरूबीचको प्रतिस्पर्धाले अधिवेशनलाई थप रोचक बनाएको छ।
पार्टी स्रोतका अनुसार अधिवेशनमा जिल्लाका आठवटै पालिका तथा ९२ वटै वडाबाट चयन भएका ६ सयभन्दा बढी प्रतिनिधिहरू सहभागी हुनेछन्। रास्वपाले अवलम्बन गर्दै आएको आन्तरिक लोकतान्त्रिक अभ्यास तथा ‘प्राइमरी इलेक्सन’को अवधारणालाई आधार मानेर नयाँ जिल्ला समिति गठन गरिने जनाइएको छ।
अधिवेशनमार्फत चयन हुने नेतृत्वले आगामी दिनमा जिल्लाभर पार्टीको नीति, कार्यक्रम र संगठनलाई थप सशक्त ढंगले अघि बढाउने अपेक्षा गरिएको छ। नेतृत्व चयनका लागि सर्वसम्मतिको प्रयास भइरहे पनि सहमति जुट्न नसके लोकतान्त्रिक प्रक्रिया अन्तर्गत निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिने बताइएको छ।
जेठ २४ गते कावासोतीमा हुने रास्वपा नवलपुरको पहिलो जिल्ला अधिवेशनले पार्टीको जिल्ला कमान्ड कसको हातमा जाने भन्ने विषयलाई लिएर कार्यकर्ता तथा राजनीतिक वृत्तमा व्यापक चासो बढेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको