प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम : सञ्चारमन्त्री डा. तिमिल्सिना

काठमाडौँ, २१ जेठ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कृत्रिम बौद्धिकता, प्रविधि र एल्गोरिदमद्वारा निर्देशित वर्तमान विश्वमा पनि साहित्य मानव सभ्यता, संवेदना र जीवन–जगत बुझ्ने सबैभन्दा सशक्त माध्यमका रूपमा कायम रहेको बताउनुभएको छ ।

काठमाडौँमा आयोजित ‘हिमालयन लिट्रेचर फेस्टिभल एन्ड राइटर्स वर्कसप २०२६’ लाई सम्बोधन गर्नुहुँदै सञ्चारमन्त्री तिमिल्सिनाले साहित्यले मानिसलाई आत्मचिन्तन, संवेदना र मानवीय सम्बन्धसँग जोडिराख्ने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

“एल्गोरिदम, डाटा र तीव्र गतिले आकार दिइरहेको विश्वमा मानिसहरू अझै कविता किन लेख्छन् ? कथा किन सुनाइरहन्छन् ? किनकि साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सबैभन्दा सशक्त माध्यम हो,” उहाँले भन्नुभयो ।

फेस्टिभलको यस वर्षको विषयवस्तु समसामयिक र सान्दर्भिक रहेको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले विश्व राजनीति, अर्थतन्त्र र प्रविधिमा तीव्र परिवर्तन भइरहे पनि मानिस अझै जीवन जगतको अर्थ, सम्मान, पहिचान र नयाँ आशाको खोजीमै रहेको बताउनुभयो ।

“सूचना प्रविधिको युगमा हामी पहिलेभन्दा धेरै जोडिएका छौँ, तर एकअर्कालाई बुझ्ने क्षमतामा भने उति प्रगति गर्न सकेका छैनौँ । यही कारण साहित्य अपरिहार्य बन्छ। साहित्यले तीव्र गतिमा दौडिरहेको संसारलाई केही समय रोक्न बाध्य बनाउँछ,” उहाँले भन्नुभयो ।

लेखक, कवि र अनुवादकहरूको भूमिकाबारे चर्चा गर्दै उहाँले साहित्य सिर्जना मानवता जोगाउने सामूहिक अभियान रहेको पनि धारणा राख्नुभयो । आफूले करिब एक दशक नेपाली साहित्य र संगीतमा केन्द्रित रेडियो कार्यक्रम सञ्चालन गरेको अनुभव सुनाउँदै उहाँले साहित्य र संगीतले राजनीति, भूगोल र सामाजिक विभाजनभन्दा पर पुगेर सम्बन्ध विस्तार गर्न सक्ने उल्लेख गर्नुभयो । आफ्नो साहित्यिक यात्राबारे चर्चा गर्दै मन्त्री तिमिल्सिनाले सन् २००६ मा नेपाली गजल सङ्ग्रह प्रकाशित गरेको अनुभव सुनाउनुभयो । उहाँका अनुसार कविता त्यस्तो माध्यम हो, जसले तथ्यांक, नीति र औपचारिक भाषणले व्यक्त गर्न नसक्ने सत्यलाई अभिव्यक्त गर्न सक्छ ।

सोही कार्यक्रममा नेपालको भाषिक र सांस्कृतिक विविधताबारे चर्चा गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले नेपालमा बोलिने प्रत्येक भाषाले आफ्नै विश्वदृष्टि बोकेको उल्लेख गर्नुभयो ।

“हरेक समुदायका कथा, लोकसाहित्य, मिथक र स्मृतिहरूले हाम्रो साझा पहिचानलाई समृद्ध बनाएका छन्,” उहाँले भन्नुभयो ।

आधुनिक सञ्चार प्रणाली र सामाजिक सञ्जालको विकासअघि पनि कथावाचन, लोकगीत र मौखिक परम्पराले समाजलाई जोडेर राखेको उल्लेख गर्दै उहाँले साहित्य मानव सभ्यताको विकाससँगै निरन्तर परिष्कृत हुँदै आएको बताउनुभयो ।

नेपाली साहित्यिक परम्पराबारे बोल्दै उहाँले भानुभक्त आचार्यदेखि महाकवि लक्ष्मीप्रसाद देवकोटासम्मका स्रष्टाले स्थानीय यथार्थलाई सार्वभौमिक मानवीय चिन्तनसँग जोडेको बताउनुभयो । अहिलेको पुस्ताका लेखक, पत्रकार, अनुवादक र सर्जकहरूले पनि यही परम्परालाई समकालीन चुनौतीसँग जोड्दै अघि बढाइरहेको उहाँको भनाइ थियो ।

मन्त्री तिमिल्सिनाले समाज निर्माणका लागि पूर्वाधार, संस्था र अर्थतन्त्रजत्तिकै कल्पना, भाषा, संस्कृति र स्मृतिको पनि आवश्यकता पर्ने उल्लेख गर्नुभयो । “सरकारले पूर्वाधार निर्माण गर्न सक्छ, संस्थाले प्रणाली बनाउन सक्छ र अर्थतन्त्रले समृद्धि दिन सक्छ। तर लेखक, कलाकार, कवि र कथाकारहरूले राष्ट्रको भित्री जीवन निर्माण गर्छन्,” उहाँले भन्नुभयो ।

साहित्यिक मेला तथा अन्तर्राष्ट्रिय सर्जकहरु जमघट हुने मञ्चहरूले विचारलाई सीमापार पुर्‍याउने र सिर्जनात्मक संवादलाई विस्तार गर्ने धारणा सञ्चारमन्त्री तिमिल्सिनाले राख्नुभयो । अन्तर्राष्ट्रिय साहित्यकारहरूको काठमाडौँ भेलाले नेपालको हिमाल, संस्कृति, भाषा र कथालाई विश्व समुदायसम्म पुर्‍याउन सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।—

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको