फिन इलेक्ट्रो-टेक २०२६ को तयारी पूरा, भोलि अर्थमन्त्री स्वर्णिम वाग्लेद्वारा उद्घाटन

काठमाडौं, जेठ २१ । नेपाल विद्युतीय व्यवसायी महासंघ (फिन) ले आयोजना गर्न लागेको देशकै प्रतिष्ठित विद्युतीय तथा ऊर्जा क्षेत्रको प्रदर्शनी ‘फिन इलेक्ट्रो-टेक २०२६’ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रदर्शनीको १२औँ संस्करण भोलि जेठ २२ गते काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा अर्थमन्त्री स्वर्णिम वाग्ले द्वारा उद्घाटन गरिने कार्यक्रम रहेको छ।

 

 

जेठ २२ देखि २५ गते (जुन ५-८, २०२६) सम्म सञ्चालन हुने प्रदर्शनीमा नेपाल, भारत, चीनलगायत विभिन्न देशका स्वदेशी तथा अन्तर्राष्ट्रिय कम्पनीहरूको सहभागिता रहनेछ । आयोजकका अनुसार यस वर्षका सबै स्टल निर्धारित समयअघि नै बुकिङ भइसकेका छन्।

महासंघका अध्यक्ष दिलीपकुमार अग्रवालका अनुसार प्रदर्शनीमा ऊर्जा, विद्युतीय सामग्री, स्मार्ट प्रविधि, औद्योगिक स्वचालन, सूचना प्रविधि, सौर्य ऊर्जा, ई-मोबिलिटी, चार्जिङ पूर्वाधार तथा आधुनिक इलेक्ट्रोनिक्स क्षेत्रका नवीनतम उत्पादन र प्रविधि प्रदर्शन गरिनेछ।

प्रदर्शनीले स्वदेशी तथा विदेशी उत्पादक, आपूर्तिकर्ता, वितरक र उपभोक्ताबीच व्यावसायिक सम्बन्ध विस्तार, प्रविधि हस्तान्तरण तथा लगानीका नयाँ अवसर सिर्जना गर्ने विश्वास आयोजकको छ। प्रदर्शनी अवधिभर बी-टु-बी मिटिङ, प्रविधि प्रस्तुतीकरण, अन्तरक्रिया तथा ज्ञानमूलक सत्रहरू समेत सञ्चालन गरिनेछन्।

प्रदर्शनीमा करिब २५ हजार आगन्तुक सहभागी हुने अपेक्षा गरिएको छ। प्रवेश निःशुल्क रहे पनि आगन्तुकले क्यूआर कोड वा अनलाइन माध्यमबाट पूर्वदर्ता गर्नुपर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको