नवलपुर, जेठ २१ । नवलपुरको देवचुली नगरपालिकामा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृ त्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार शुक्रबार राति करिब १०ः५० बजे देवचुली नगरपालिका १४ प्रगतिनगरस्थित पूर्व–पश्चिम राजमार्गमा कावासोतीबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख १७५७ नम्बरको ट्रकको टायर पड्किएपछि चालकले सडक किनारमा रोकी मर्मत गरिरहेका थिए। सोही क्रममा पछाडिबाट आइरहेको ग १० प २२८७ नम्बरको मोटरसाइकल ट्रकमा ठोक्किएको थियो।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मध्यबिन्दु नगरपालिका- १ निवासी ५१ वर्षीय ओमनारायण गुरौ (थारु) गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि पुरानो मेडिकल कलेज, चितवन पठाइएकोमा राति ११ः२५ बजे उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक भारतका २६ वर्षीय विशाल कुमार श्रीवास्तव घाइते भएका छन्। उनको बायाँ खुट्टा र मुखमा चोट लागेको तथा स्वास्थ्य अवस्था मध्यम रहेको बताइएको छ।
ट्रक चालक बर्दघाट नगरपालिका- १० भुताहा निवासी ५२ वर्षीय भीमबहादुर पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।







