फिन इलेक्ट्रो-टेक २०२६ सुरु, बजेट कार्यान्वयन र ऊर्जा क्षेत्रमा निजी क्षेत्रको भूमिका बढाउन जोड

काठमाडौं, जेठ २२ । नेपाल विद्युतीय व्यवसायी महासंघ (फिन) को आयोजनामा देशकै प्रतिष्ठित विद्युतीय इलेक्ट्रिक,इलेक्ट्रोनिक्स, ऊर्जा, तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित प्रदर्शनी ‘फिन इलेक्ट्रो-टेक २०२६’ को १२औँ संस्करण आज काठमाडौंस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा सुरु भएको छ।

चार दिनसम्म सञ्चालन हुने प्रदर्शनीको उद्घाटन नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्ले ले गरेका हुन्। प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूले विद्युतीय सामग्री, ऊर्जा प्रविधि, स्मार्ट समाधान, तथा वैकल्पिक ऊर्जा सम्बन्धी नवीनतम उत्पादन र सेवाहरू प्रदर्शन गरेका छन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकारले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटले उत्पादन, उद्योग, ऊर्जा तथा प्रविधि क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउने लक्ष्य लिएको उल्लेख गरे। उनले बजेटमा समेटिएका नीतिहरूको प्रभावकारी कार्यान्वयनमार्फत लगानीमैत्री वातावरण निर्माण गरिने बताए। “नेपाललाई ऊर्जा उत्पादनमा मात्र सीमित नराखी ऊर्जा उपभोग, औद्योगिकीकरण र प्रविधिमैत्री अर्थतन्त्रतर्फ अगाडि बढाउन आवश्यक छ,” मन्त्री वाग्लेले भने, “विद्युतीय तथा इलेक्ट्रोनिक्स क्षेत्रले रोजगारी सिर्जना, राजस्व वृद्धि र आधुनिक अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ।”
उनले नवीकरणीय ऊर्जा, विद्युतीय सवारीसाधन, स्मार्ट ग्रिड प्रणाली तथा ऊर्जा दक्ष प्रविधिको प्रयोग विस्तार गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै निजी क्षेत्रसँग सहकार्य गरेर देशलाई हरित अर्थतन्त्रतर्फ लैजान सकिने बताए।

 

कार्यक्रममा महासंघका अध्यक्ष दिलिप कुमार अग्रवाल ले सरकारले बजेटमार्फत व्यवसायीहरूको अपेक्षा सम्बोधन गर्ने प्रयास गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन अझ महत्वपूर्ण रहेको बताए। “नीति र कार्यक्रम राम्रो हुनु मात्रै पर्याप्त हुँदैन, त्यसलाई व्यवहारमा उतार्न सक्नुपर्छ,” अध्यक्ष अग्रवालले भने, “विद्युतीय तथा ऊर्जा क्षेत्र नेपालको आर्थिक विकाससँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले लगानीमैत्री वातावरण, सहज कर प्रणाली, भन्सार प्रक्रियाको सरलीकरण र स्वदेशी उद्योगको संरक्षणमा सरकार गम्भीर हुनुपर्छ।” उनले पछिल्लो बजेटमा उद्योग, ऊर्जा तथा प्रविधि क्षेत्रलाई प्रोत्साहन गर्ने केही सकारात्मक व्यवस्थाहरू समावेश भएको उल्लेख गर्दै त्यसको शीघ्र कार्यान्वयनका लागि सरकारसँग आग्रह गरे। साथै विद्युतीय व्यवसायीहरूलाई आधुनिक प्रविधिसँग जोड्न, सीप विकास गर्न र अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउने वातावरण निर्माण आवश्यक रहेको बताए।

महासंघका अनुसार प्रदर्शनीले विद्युतीय तथा ऊर्जा क्षेत्रका उत्पादक, आयातकर्ता, वितरक, प्राविधिक, उद्योगी, व्यवसायी तथा उपभोक्ताबीच ज्ञान, प्रविधि र व्यापारिक अवसर आदानप्रदान गर्ने साझा मञ्चको रूपमा काम गर्नेछ।

 

प्रदर्शनीमा ऊर्जा, इलेक्ट्रिक,इलेक्ट्रोनिक्स, तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित सयौँ ब्रान्ड तथा कम्पनीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। प्रदर्शनी जेठ २५ गतेसम्म सर्वसाधारणका लागि खुला रहनेछ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको