काठमाडौं, जेठ २३ । नेपाल विद्युतीय व्यवसायी महासंघ (फिन) को आयोजनामा काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी गृहमा जारी ‘फिन इलेक्ट्रो-टेक २०२६’ प्रदर्शनीको दोस्रो दिन शनिबार १२ हजारभन्दा बढी अवलोकनकर्ताले अवलोकन गरेको जानकारी महासङ्घका महासचिव शंकर देवकोटाद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

 

नेपालको विद्युतीय, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, ऊर्जा तथा वैकल्पिक ऊर्जा क्षेत्रको विकास, प्रवर्द्धन र विस्तार गर्ने उद्देश्यले आयोजित प्रदर्शनीको १२औँ संस्करणमा ऊर्जा क्षेत्रका विज्ञ डा. इन्जिनियर कृष्ण भेटवाल, मिन गैरे लगायत विभिन्न सरकारी निकायका प्रतिनिधि, उद्योगी-व्यवसायी, ऊर्जा तथा प्रविधि क्षेत्रका विज्ञ, देशभरका जिल्ला तथा नगर संघका पदाधिकारी एवं सदस्य, प्रदर्शक कम्पनीका प्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। महासंघका अनुसार दोस्रो दिनको उत्साहजनक उपस्थितिले नेपालको विद्युतीय तथा ऊर्जा क्षेत्रप्रति बढ्दो आकर्षण, नवीन प्रविधिप्रतिको चासो तथा प्रविधिमैत्री बजारको विस्तार हुँदै गएको संकेत गरेको छ। प्रदर्शनीप्रति सर्वसाधारण तथा व्यवसायिक क्षेत्रबाट प्राप्त सकारात्मक सहभागिताले आयोजकलाई थप ऊर्जा र हौसला प्रदान गरेको महासंघले जनाएको छ। प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूले अत्याधुनिक विद्युतीय सामग्री, ऊर्जा प्रविधि, स्मार्ट समाधान तथा प्रविधिसम्बन्धी नवीनतम उत्पादन र सेवाहरू प्रदर्शन गरेका छन्। प्रदर्शनीले व्यवसायिक सम्बन्ध विस्तार, प्रविधि हस्तान्तरण, लगानी प्रवर्द्धन, उद्यमशीलताको विकास तथा उपभोक्तालाई नवीनतम प्रविधिसँग प्रत्यक्ष रूपमा परिचित गराउने अवसर प्रदान गरेको आयोजकको भनाइ छ।

महासंघले प्रदर्शनी सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण प्रदर्शक कम्पनी, प्रायोजक संस्था, जिल्ला तथा नगर संघ, सरकारी तथा गैरसरकारी निकाय, सञ्चारकर्मी, स्वयंसेवक तथा अवलोकनकर्ताप्रति आभार व्यक्त गरेको छ।

नेपाल विद्युतीय व्यवसायी महासंघले आगामी दिनमा पनि विद्युतीय, ऊर्जा तथा प्रविधि क्षेत्रको दिगो विकास, आधुनिकीकरण र व्यवसायिक सुदृढीकरणका लागि यस्ता रचनात्मक तथा प्रभावकारी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको