नवलपुर, जेठ २५ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको बौदीकाली गाउँपालिका-२ स्थित अकलादेवी मन्दिर नजिक कालीगण्डकी करिडोर सडकखण्डबाट अवैध रूपमा नदीजन्य पदार्थ ढुवानी गरिरहेका चार वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सोमबार अवैध रूपमा मिस्कट (गिटी तथा बालुवा) लोड गरी गैँडाकोटबाट पाल्पातर्फ जाँदै गरेका सवारीसाधनलाई जाँचका क्रममा नियन्त्रणमा लिइएको हो।
प्रहरीले ग १ ख ४७३१ नम्बरको मिनी ट्रक, ग १ ख ३२४९ नम्बरको टिपर, ग १ ख ९१२० नम्बरको टिपर तथा लु ४ त ८३०७ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको जनाएको छ।
नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक अनुसन्धान तथा थप कारबाहीका लागि सम्बन्धित बौदीकाली गाउँपालिकाको कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
नवलपुरमा पछिल्लो समय नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसार नियन्त्रणका लागि प्रहरीले निगरानी र अनुगमनलाई तीव्र बनाएको छ। प्रहरीले प्राकृतिक स्रोत–साधनको अवैध दोहन रोक्न नियमित रूपमा अनुगमन तथा कारबाही अभियान सञ्चालन गर्दै आएको जनाएको छ।







