गैंडाकोट, जेठ २६ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) प्रहरीले नारायणी नदी किनारबाट अवैध रूपमा ढुंगा, गिट्टी तथा बालुवा उत्खनन, बिक्री तथा ओसारपसारमा संलग्न १३ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का अनुसार नदीजन्य पदार्थ उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड-२०७७ को नियम ८ को उपनियम २ विपरीत कार्य गरेको पाइएपछि ती सवारीसाधनलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ त्रिपालले नछोपी सडकमा खसाल्दै हिँडेको तथा सडकमा पानी चुहाई वातावरणीय तथा सार्वजनिक सरोकारमा असर पुर्याएको आरोपमा सवारीसाधनहरूलाई गैंडाकोट नगरपालिका-७ क्षेत्रबाट चालकसहित नियन्त्रणमा लिएको जनाएको छ।
नियन्त्रणमा लिइएका सबै सवारीसाधनलाई आवश्यक कानुनी कारबाहीका लागि गैंडाकोट नगरपालिकामा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार नियन्त्रणमा परेका सवारीसाधनहरूमा ना ७ ख ६९२८, ना ७ ख २८८७, ना ७ ख ३७७२, ना ७ ख ७५१८, ना ७ ख ८१५०, ना ८ ख ३६५०, प्र.३-००१ ख १३७८, ग १ क ५४८९, बा.प्र.०३-००१ ख ०६८२, ना ७ ख ५५५, म.प्र.०३-००१ क ३०४२, बा.प्र.०३-००१ क ०७९९ र ना ७ ख २६७२ नम्बरका सवारीसाधन रहेका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले नदीजन्य पदार्थको अवैध उत्खनन, ढुवानी तथा बिक्री–वितरण नियन्त्रणका लागि अनुगमन र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ। सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितद्वारा जारी सूचनामा कानुनविपरीत हुने यस्ता गतिविधिमा संलग्न नहुन सबै सरोकारवालालाई आग्रह गरिएको छ।







