गैँडाकोट, जेठ ३१ । गैँडाकोट नगर क्षेत्रकै सबैभन्दा जेठो तथा प्रतिष्ठित उपभोक्ता संस्था ‘गैँडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था’को नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त गठबन्धनले ऐतिहासिक जित हासिल गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई कुनै पनि पदमा विजयी हुन नदिँदै गठबन्धनको सम्पूर्ण प्यानल निर्वाचित भएको हो।
निर्वाचन समितिका संयोजक जनक ढुङ्गानाले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार संस्थाको अध्यक्ष पदमा नेपाली काँग्रेसका विपिनभक्त अधिकारी विजयी भएका छन्। उनले रास्वपाका उम्मेदवार ज्ञानेन्द्र सापकोटालाई पराजित गरेका हुन्।
त्यस्तै उपाध्यक्ष पदमा नेकपा एमालेका कृष्णप्रसाद काफ्ले रास्वपाका कृष्णप्रसाद पौडेललाई पराजित गर्दै निर्वाचित भए। सचिव पदमा काँग्रेसका दामोदर तिवारीले रास्वपाका रविन्द्रराज घिमिरेलाई हराउँदै जित हात पारे।
कोषाध्यक्ष पदमा एमालेका श्रीराम सुवेदी विजयी हुँदा उनले रास्वपाकी इश्वरा शर्मा भट्टराईलाई पराजित गरे। सहसचिवमा रुद्रबहादुर थापा तथा लेखा संयोजकमा भोजेन्द्र पौडेल निर्वाचित भएका छन्। लेखा सदस्यहरूमा विष्णु सापकोटा रिमाल र सन्तबहादुर श्रेष्ठ विजयी भए।
महिला सदस्यतर्फ तिर्सना अधिकारी, पद्मादेवी शर्मा सुवेदी, पार्वती पोखरेल र लक्ष्मी पाण्डे घिमिरे निर्वाचित भएका छन्। यस्तै भौगोलिक क्लस्टरतर्फ संयोजकहरूमा अर्जुन पराजुली, नारायण घिमिरे, वेदबन्धु रेग्मी, धनप्रसाद सापकोटा, वेदप्रसाद गौडेल र सरस्वती न्यौरे निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
भूमिगत जलस्रोतलाई आधुनिक प्रविधिमार्फत सतहमा तानेर गैँडाकोटका हजारौँ उपभोक्तालाई २४ सै घण्टा शुद्ध खानेपानी उपलब्ध गराउँदै आएको यो संस्था नगरकै सबैभन्दा ठूलो र आर्थिक रूपमा सबल उपभोक्ता संस्थामध्ये एक मानिन्छ। करोडौँ रुपैयाँको वार्षिक बजेट सञ्चालन गर्ने तथा ठूलो सङ्ख्यामा उपभोक्ता आबद्ध रहेको यस संस्थाको नेतृत्वलाई स्थानीय राजनीतिक वृत्तमा अत्यन्त प्रतिष्ठाको विषयका रूपमा हेरिने गरिन्छ।
स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार राष्ट्रिय राजनीतिमा नयाँ शक्तिका रूपमा उदाएको रास्वपाले गैँडाकोटमा प्रभाव विस्तार गर्ने प्रयास गरे पनि काँग्रेस–एमालेको संयुक्त रणनीतिअघि सफल हुन सकेन। गठबन्धनले सबै पदमा विजय हासिल गरेसँगै स्थानीय तहमा पुराना दलहरूको संगठनात्मक पकड अझै बलियो रहेको सन्देश गएको छ।
नवनिर्वाचित पदाधिकारीहरूले संस्थाको गरिमा कायम राख्दै उपभोक्तामुखी सेवा, पारदर्शी व्यवस्थापन तथा गुणस्तरीय खानेपानी आपूर्तिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।







