जनक नमूना माविको अध्यक्षमा गोविन्दप्रसाद घिमिरे सर्वसम्मत, प्रविधिमैत्री शिक्षामा जोड

गैँडाकोट,असार ३ । नवलपुरको गैँडाकोटस्थित प्रतिष्ठित शैक्षिक संस्था जनक नमूना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) को अध्यक्षमा गोविन्दप्रसाद घिमिरे सर्वसम्मत चयन भएका छन्।

 

विद्यालयको चौतर्फी विकास र गरिमालाई उच्च बनाउने संकल्पका साथ घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो।

गैँडाकोट-५ निवासी नवनिर्वाचित अध्यक्ष घिमिरे लामो समयदेखि यस क्षेत्रको सामाजिक, राजनीतिक र व्यावसायिक क्षेत्रमा सक्रिय व्यक्तित्व हुन्। दूरदर्शी र जुझारु छविका घिमिरेको नेतृत्वसँगै विद्यालयले शैक्षिक, भौतिक तथा प्रविधिमैत्री क्षेत्रमा नयाँ फड्को मार्ने भन्दै स्थानीय शिक्षाप्रेमी, अभिभावक र विद्यार्थीहरू उत्साहित देखिएका छन्।

समितिमा स्थानीय जनप्रतिनिधिदेखि शिक्षाप्रेमीसम्म

नवगठित व्यवस्थापन समितिको सदस्यहरूमा क्षेत्रकै प्रतिष्ठित व्यक्तित्वहरू समेटिएका छन्। जसअनुसार स्थानीय शिक्षाप्रेमी होमनाथ पौडेल सदस्यमा चयन भएका छन् भने महिला प्रतिनिधित्वलाई बलियो बनाउँदै रेनुका सिग्देल शर्मा र लक्ष्मी उपाध्याय सदस्य पदमा सर्वसम्मत भएका हुन्।

त्यसैगरी, स्थानीय सरकार र विद्यालयबीचको समन्वयलाई प्रभावकारी बनाउन गैँडाकोटका वडाध्यक्ष रत्नप्रसाद सापकोटाले वि.व्य.स. सदस्यको जिम्मेवारी सम्हालेका छन्। विद्यालयका प्रधानाध्यापक बुद्धिसागर पण्डितले समितिको सदस्य–सचिवको रूपमा भूमिका निर्वाह गर्नेछन्।

शिक्षक अभिभावक संघको नेतृत्वमा शर्मा

विद्यालयको आन्तरिक सुधार र अभिभावकहरूको आवाजलाई प्रतिनिधित्व गर्ने महत्वपूर्ण निकाय ‘शिक्षक अभिभावक संघ’ को अध्यक्ष पदमा कृष्णप्रसाद शर्मा चयन भएका छन्। शर्माको नेतृत्वमा गठित नयाँ कार्यसमितिले विद्यालय र अभिभावकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ।

पदका लागि होइन, कर्तव्य पूरा गर्न आएको हुँ: अध्यक्ष घिमिरे

पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष गोविन्दप्रसाद घिमिरेले आफू पदका लागि भन्दा पनि जिम्मेवारी र कर्तव्य पूरा गर्न आएको प्रतिबद्धता जनाए।

“जनक नमूना माविको साखलाई देशकै उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा स्थापित गर्न मेरो सम्पूर्ण ऊर्जा खर्चिनेछु,” घिमिरेले भने, “नयाँ टिमको सामूहिक प्रयास, प्रविधिमैत्री शिक्षण पद्धति र गुणस्तरीय शिक्षामार्फत हामी अभिभावक र विद्यार्थीको भरोसा टुट्न दिने छैनौँ।”

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको