गैँडाकोट नगरपालिकाको बजेट १ अर्ब २८ करोड: स्वास्थ्य, शिक्षा र कृषिमा आकर्षक कार्यक्रम

गैँडाकोट, ५ असार । नवलपुरको गैँडाकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु. १ अर्ब २८ करोड ८८ लाख बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ। शुक्रबार आयोजित नगरसभाको १९औँ अधिवेशनमा नगर उपप्रमुख शान्ती कोइरालाले आगामी वर्षको नीति, कार्यक्रम तथा वार्षिक बजेट प्रस्तुत गर्नुभएको हो।

नगरपालिकाले चालु खर्चतर्फ रु. ७८ करोड ६२ लाख ६० हजार र पुँजीगत (विकास) खर्चतर्फ रु. ५० करोड ४० लाख विनियोजन गरेको छ।

आन्तरिक राजस्वबाट ४४ करोड उठाउने लक्ष्य

उपप्रमुख कोइरालाका अनुसार कुल बजेटको स्रोत व्यवस्थापनमा आन्तरिक राजस्वलाई बलियो खम्बा मानिएको छ। आगामी वर्ष आन्तरिक राजस्वबाट रु. ४४ करोड २२ लाख ५३ हजार संकलन हुने अनुमान छ।

त्यस्तै, अन्तर-सरकारी वित्तीय हस्तान्तरणबाट रु. ५९ करोड ७ लाख ९८ हजार, सङ्घीय तथा प्रदेश सरकारको राजस्व बाँडफाँटबाट रु. १७ करोड १५ लाख ९१ हजार र सञ्चित कोष तथा अन्य स्रोतबाट रु. ८ करोड बेहोरिने नगरपालिकाले जनाएको छ।

दुर्गम वडामा निःशुल्क एम्बुलेन्स, सुत्केरीलाई ५ हजार भत्ता

बजेट भाषणअघि नगरप्रमुख मदनभक्त अधिकारीले नगरसभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ।

भौगोलिक रूपमा दुर्गम मानिएका वडा नम्बर ३ र १८ का गर्भवती, सुत्केरी तथा अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने भएको छ। सरकारी स्वास्थ्य संस्था र बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलालाई प्रोत्साहनस्वरूप रु. ५ हजार सुत्केरी भत्ता प्रदान गर्ने गरी ‘सुत्केरी आमा पोषिलो खाना कार्यक्रम’ ल्याइएको छ।

४० वर्षभन्दा माथिका नागरिक लक्षित क्यान्सर, मधुमेह तथा उच्च रक्तचापको निःशुल्क परीक्षण र विपन्न नागरिकका लागि आकस्मिक स्वास्थ्य सुरक्षा कोषको स्थापना गरिने नगरप्रमुख अधिकारीले बताउनुभयो। साथै, आयुर्वेदतर्फ ३५ प्रकारका औषधि निःशुल्क वितरण गरिने योजना छ।

विद्यालयमा ‘जङ्क फुड’ निषेध, दुना-टपरीको प्रयोगलाई जोड

शिक्षा र वातावरण क्षेत्रमा सुधार ल्याउन नगरपालिकाले विद्यालयहरूलाई पत्रु खाना (जङ्क फुड) निषेधित क्षेत्र घोषणा गर्ने नीति लिएको छ। प्लास्टिकजन्य सामग्रीलाई निरुत्साहन गर्दै स्थानीय स्रोतबाट बन्ने सालको पातको दुना-टपरी प्रयोगलाई अनिवार्य जस्तै बनाइने नगरप्रमुख अधिकारीले जानकारी दिनुभयो।

त्यस्तै, शैक्षिक सुधारका लागि आवासीय विद्यालय र ‘बिग स्कुल’ सञ्चालनको अवधारणा अघि सारिएको छ। विद्यालयहरूमा स्थानीय उत्पादनलाई पाठ्य सामग्रीको रूपमा प्रयोग गरिनेछ भने ‘एक विद्यालय, एक करेसाबारी’ कार्यक्रम लागू गरिनेछ।

‘गैँडाकोटको भिजन : मकै सबै सिजन’

कृषिमा आत्मनिर्भरताका लागि ‘एक समूह : एक कृषि नमूना व्यावसायिक खेती’ को अवधारणा ल्याइएको छ। गैँडाकोटको पहिचानका रूपमा ‘गैँडाकोटको भिजन : मकै सबै सिजन’ र चैतेधानको क्षेत्र विस्तारलाई मुख्य नारा बनाइएको छ।

वडा नम्बर ३ र १८ मा तरुल खेतीलाई प्रोत्साहन गरिनेछ भने वडा नम्बर १८ मा स्थापित स्थापित केरा तथा चिया बगानलाई थप विस्तार गरी कृषि पर्यटनको विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको