गैंडाकोटमा १६० घण्टाको ‘ब्यारिस्टा’ तालिम सम्पन्न, सिपलाई स्वरोजगारसँग जोड्न मेयर अधिकारीको आग्रह

गैंडाकोट, असार ८ । “सिप सिकौँ स्वरोजगार बनौँ” भन्ने मुख्य नाराका साथ गैंडाकोट नगरपालिका र वडा नम्बर ५ को वडा कार्यालयको संयुक्त आयोजनामा सञ्चालित १६० घण्टाको ‘ब्यारिस्टा’ (कफी बनाउने) तालिम भव्य रूपमा समापन भएको छ। युवाहरूलाई आत्मनिर्भर र स्वरोजगार बनाउने उद्देश्यले आयोजित उक्त तालिममा स्थानीय ४० जनाभन्दा बढी युवा-युवतीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

विक्रमबाबा इन्जिनियरिङ्ग एण्ड टेक्निकल कलेज प्रा.लि., कावासोती-८ को प्राविधिक सहजीकरणमा २०८३ जेठ ८ गतेदेखि सुरु भएको उक्त तालिमको आज एक विशेष समारोहका बीच समापन गरिएको हो। तालिम समापन तथा प्रमाणपत्र वितरण समारोहका प्रमुख अतिथि एवं गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै नेपालमा कफी संस्कृति दिनानुदिन फस्टाउँदै गएकाले यस तालिमको बजारमा उच्च माग रहेको  बताउँदै स्थानीय सरकार केवल भौतिक पूर्वाधार निर्माणमा मात्र होइन, युवाहरूको क्षमता विकास र रोजगारी सिर्जनामा पनि उत्तिकै गम्भीर भएकाले १६० घण्टासम्म सिकेको यो ब्यारिस्टा सिपलाई प्रमाणपत्रमा मात्र सीमित नराखी व्यावसायिक रूपमा सदुपयोग गर्न आग्रह गर्दै  स्वरोजगार  बन्न चाहने र स्थानीय स्तरमै कफी व्यवसाय वा क्याफे सञ्चालन गर्न इच्छुक युवायुवती हरूका लागि नगरपालिकाले आवश्यक प्रोत्साहन र सहुलियतका कार्यक्रमहरू ल्याउन प्रतिबद्ध रहेको उल्लेख गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर कार्यपालिका सदस्य शान्ति न्यौपानेले आधुनिक सिपले युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न मद्दत गर्ने धारणा राखिन् उनले विशेष गरी युवा र महिला दिदीबहिनीहरू आर्थिक रूपमा सक्षम नभएसम्म समाजको वास्तविक रूपान्तरण सम्भव नहुने उल्लेख गर्दै ब्यारिस्टा तालिमले यहाँका युवाहरूमा नयाँ ऊर्जा थपेको छ, अब बजारको माग अनुसार उत्कृष्ट स्वादको कफी पस्किएर आफ्नै खुट्टामा उभिन प्रयत्न  गर्नुपर्नेमा जोड दिइन्। 

समापन समारोहको अध्यक्षता गरेका गैंडाकोट वडा नम्बर ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटाले सहभागीहरूले तालिम अवधिभर देखाएको अनुशासन र उत्सुकताको प्रशंसा गर्दै उनले वडा कार्यालयले युवाहरूको चाहना र बजारको मागलाई बुझेर यो कफी बनाउने तालिमको तर्जुमा गरेको बताए।

उक्त समापन कार्यक्रममा वडा सदस्यहरू उषा परियार, साकिला परियार लगायत स्थानीय सङ्घसंस्थाका प्रतिनिधि, पत्रकार तथा प्रशिक्षार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो। तालिममा उत्कृष्ट अङ्क ल्याउने र लगनशीलताका साथ सिक्ने सहभागीहरूलाई समारोहमा विशेष सम्मान समेत गरिएको थियो। सहभागी युवाहरूले स्थानीय सरकारले आफ्नै घरआँगनमा यस्तो आधुनिक र व्यावसायिक कफी बनाउने तालिम उपलब्ध गराइदिएकोमा खुसी व्यक्त गर्दै सिकेको सिपलाई तत्कालै व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको