गैंडाकोट, ११ असार । गैंडाकोट नगरपालिका वडा नं. ४ मा कार्यालय रहेको नेपाल राष्ट्रिय भूतपूर्व सैनिक कृषि सहकारी संस्था लिमिटेडले कुटानी पिसानी कम्बाइन मेसिन सञ्चालनमा ल्याएको छ। गैंडाकोट नगरपालिकाको आर्थिक अनुदान सहयोगमा संस्थाले बुधबारदेखि उक्त मेसिन सञ्चालनमा ल्याएको हो।
स्थानीयलाई प्रत्यक्ष लाभ: नगरप्रमुख अधिकारी
कुटानी पिसानी कम्बाइन मेसिनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले भूतपूर्व सैनिक संस्थाको यस कार्यले स्थानीय जनसमुदायलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो। सहकारीको यस्ता रचनात्मक कार्यले संस्थाको छवि अझ उच्च बनाउने उल्लेख गर्दै उहाँले भन्नुभयो:
“हालका लागि स्थानीय रूपमा सेवा सुरु गरेपनि भविष्यमा नगरस्तरीय रूपमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्न म संस्थालाई आग्रह गर्दछु। यसका लागि नगरपालिका सहकार्य गर्न तयार छ।”
सेवानिवृत्त जीवनको उदाहरणीय सदुपयोग
कार्यक्रमका विशेष अतिथि एवं वडा नं. ४ का वडा अध्यक्ष तेजप्रसाद घिमिरेले भूतपूर्व सैनिक संस्थाका पदाधिकारीहरूको सक्रियताको प्रशंसा गर्नुभयो। अधिकांश व्यक्तिहरूले सेवानिवृत्त पछिको जीवन परिवारसँग मात्र बिताउने गरेको प्रसंग जोड्दै उहाँले भन्नुभयो, “तपाईंहरूले सेवानिवृत्त भएर पनि यसरी सक्रिय बन्दै समाजप्रति देखाउनुभएको उत्तरदायित्वले समाजलाई अगाडि बढाउन ठूलो सहयोग पुग्नेछ।”
त्यस्तै, गैंडाकोट नगरपालिकाको आर्थिक शाखाका प्रमुख देबेन्द्र गौतमले संस्थाको भूमिकाको सराहना गर्दै काम गर्ने स्पष्ट दिशा र योजना भएका संस्थाहरूलाई नगरपालिकाको स्रोतले भ्याएसम्म आगामी दिनमा पनि सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
संस्थाका सेयर सदस्य एवं नेकपाका प्रदेश सदस्य युवराज रिमालले नगरपालिकाको सहयोगप्रति कृतज्ञता प्रकट गर्दै राष्ट्रलाई आवश्यक पर्ने जुनसुकै काममा पनि भूतपूर्व सैनिकहरू कहिल्यै पछि नपर्ने स्पष्ट पार्नुभयो।
६८ हजारको अनुदान, कृषकलाई राहत
स्थानीय स्तरका कृषकहरूको उत्पादनलाई गाउँघरमै कुटानी पिसानी गरी सहज सेवा दिने लक्ष्यका साथ यो मेसिन ल्याइएको हो। गैंडाकोट नगरपालिकाको ६८ हजार रुपैयाँ आर्थिक अनुदान सहयोगमा उक्त कम्बाइन मेसिन खरिद गरी सञ्चालनमा ल्याइएको संस्थाका सचिव बाबुराम रानाभाटले जानकारी दिनुभयो।
भव्य समारोहका बीच उद्घाटन
संस्थाका अध्यक्ष बलराम शाहीको अध्यक्षतामा सम्पन्न भएको उक्त उद्घाटन कार्यक्रममा संस्थाका कोषाध्यक्ष छविलाल सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव बाबुराम रानाभाटले गर्नुभएको थियो।







