गैंडाकोट आधारभूत अस्पताल परिसरमा वृक्षारोपण, वातावरण संरक्षणमा सबैको साझा दायित्व : वडाध्यक्ष सापकोटा

गैंडाकोट, असार १३। मातृभूमि टोल विकास संस्थाको आयोजनामा गैंडाकोट नगरपालिका-५ स्थित गैंडाकोट आधारभूत अस्पताल परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा गैंडाकोट-५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटा, मातृभूमि टोल विकास संस्थाकी अध्यक्ष बिन्दु लामिछाने, टोलका वरिष्ठ समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। वृक्षारोपणका क्रममा गोलमोल, कपूर, बज्रदन्ती, चेरी लगायत विभिन्न प्रजातिका फलफूल तथा छायाँ दिने बिरुवाहरू रोपिएका छन्। अस्पताल परिसरलाई हरियाली, स्वच्छ र वातावरणमैत्री बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष रत्नप्रसाद सापकोटाले वातावरण संरक्षण आजको आवश्यकता मात्र नभई भावी पुस्ताप्रतिको दायित्व भएको बताउनुभयो। उहाँले बिरुवा रोप्नु मात्रै पर्याप्त नभई त्यसको संरक्षण र नियमित हेरचाहमा सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। स्थानीय तहले हरियाली प्रवर्द्धन, वातावरण संरक्षण तथा सार्वजनिक स्थलहरूको सौन्दर्यीकरणका कार्यक्रमलाई निरन्तर प्राथमिकतामा राख्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। त्यसैगरी मातृभूमि टोल विकास संस्थाकी अध्यक्ष बिन्दु लामिछानेले अस्पताल जस्तो संवेदनशील सार्वजनिक स्थललाई हराभरा र स्वच्छ बनाउन वृक्षारोपण कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले समुदायको सक्रिय सहभागिताले यस्ता सामाजिक अभियानहरू सफल हुने उल्लेख गर्दै रोपिएका बिरुवाको संरक्षणमा टोलवासी सबै एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 

कार्यक्रममा सहभागी समाजसेवी तथा स्थानीयवासीहरूले पनि वातावरण संरक्षणका यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए। कार्यक्रमले वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै सार्वजनिक स्थानलाई हराभरा बनाउने अभियानमा स्थानीय समुदायको सक्रिय सहभागितालाई थप बल पुगेको आयोजकको विश्वास छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको