गैंडाकोट, असार १४ । गैंडाकोट-१ र २ मा अवस्थित मौलाकालिका सामुदायिक वन उपभोक्ता समूहले आर्थिक वर्ष २०८२/८३ को स्वीकृत नीति तथा कार्यक्रमअनुसार महिला सशक्तिकरणलाई प्राथमिकतामा राख्दै बाटेको धूप, फूलको बुकी बनाउने तालिमको आइतबार उद्घाटन गरेको छ।
वन समूहको सभाहलमा आयोजित कार्यक्रममा तालिम उद्घाटनसँगै ज्येष्ठ तथा विपन्न उपभोक्तालाई सम्मान तथा राहत वितरण, कृषि समूहलाई कृषि सामग्री हस्तान्तरण, टोल विकास संस्थामार्फत वातावरणीय सरसफाइ कार्यक्रम तथा वन क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयहरूलाई आर्थिक सहयोग हस्तान्तरण समेत गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि डिभिजनल वन कार्यालय नवलपुरका डिभिजनल वन अधिकृत विष्णुप्रसाद अधिकारीले सामुदायिक वनहरू केवल वन संरक्षणमा मात्र सीमित नरही सामाजिक, आर्थिक तथा सीप विकासका कार्यक्रममार्फत स्थानीय समुदायको जीवनस्तर उकास्न अग्रसर हुनुपर्ने बताए। उनले महिला उद्यमशीलता, वातावरण संरक्षण र सामुदायिक सहभागितालाई सँगै अघि बढाउँदा वन व्यवस्थापन अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरे।
समूहका अध्यक्ष हरिप्रसाद सापकोटाले उपभोक्ताको हितलाई केन्द्रमा राखेर समूहले सीपमूलक तालिम, कृषि प्रवर्द्धन, शिक्षा, सामाजिक सुरक्षा तथा वातावरण संरक्षणका कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताए। आगामी दिनमा पनि सामुदायिक वनलाई स्थानीय विकास र समृद्धिको आधारका रूपमा स्थापित गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
कार्यक्रममा गैंडाकोट-१ का वडाध्यक्ष सुरेन्द्र रेग्मी, कमलप्रसाद पराजुली, खगराज सापकोटा, सन्तोष मिश्र, शालिग्राम सापकोटा, काशीनाथ कँडेल, ठाकुरप्रसाद सापकोटा, हरीराम सापकोटा, भगवान घिमिरे, राधा देवी आचार्य तथा जगन्नाथ पौडेललगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता समूहका अध्यक्ष हरिप्रसाद सापकोटाले गरेका थिए भने सञ्चालन समूहकी सचिव इन्दिरा शर्माले गरेकी थिइन्। कार्यक्रममार्फत महिला सशक्तिकरण, सामाजिक उत्तरदायित्व, कृषि प्रवर्द्धन, शिक्षा सहयोग र वातावरण संरक्षणलाई एकसाथ अघि बढाउने समूहको प्रयासको सहभागीहरूले प्रशंसा गरेका थिए।








