नेपाल पत्रकार महासंघ नवलपुरको वार्षिक साधारणसभा सम्पन्न, चार पत्रकार पुरस्कृत

कावासोती, असार १४ । नेपाल पत्रकार महासंघ नवलपुर शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाको अवसरमा पत्रकारिता क्षेत्रमा सक्रिय योगदान पुर्‍याएका चार जना पत्रकारलाई विभिन्न पुरस्कारबाट सम्मान गरिएको छ।

महासंघले स्थापना गरेको क्रियाशील पत्रकारिता पुरस्कारबाट विजय एफएमका स्टेसन म्यानेजर श्रीधर उपाध्याय पुरस्कृत भए। त्यस्तै, शाखाका निवर्तमान अध्यक्ष वीरेन्द्र पराजुलीद्वारा स्थापना गरिएको स्वर्गीय कृष्णलाल पराजुली स्मृति पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनमा कार्यरत पत्रकार धनु भूषाललाई प्रदान गरिएको छ।

यस्तै, युवा उद्यमी तथा पत्रकार सागर पोख्रेलले आफ्ना माता–पिताको स्मृतिमा स्थापना गरेको भीमकुमारी–ढुण्डिराज स्मृति पत्रकारिता पुरस्कारबाट गोरखापत्र दैनिकका पत्रकार बोमलाल गिरी सम्मानित भएका छन्।

यसैबीच, नेपाल पत्रकार महासंघको सदस्यता लिएको २० वर्ष पूरा गरेको अवसरमा महासंघ नवलपुर शाखाका निवर्तमान अध्यक्ष वीरेन्द्र पराजुलीलाई विशेष सम्मान गरिएको शाखाका सचिव आशिष रेग्मीले जानकारी दिए। पराजुली २०५६ सालदेखि नवलपुर तथा साविक नवलपरासी क्षेत्रमा विभिन्न सञ्चारमाध्यममार्फत सक्रिय पत्रकारितामा संलग्न रहँदै आएका छन्।

महासंघ नवलपुर शाखाका अध्यक्ष श्रीराम सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष दीपक आचार्यले सरकारले सञ्चारमाध्यममाथि विज्ञापन रोक्ने लगायतका गतिविधिमार्फत प्रेस स्वतन्त्रतालाई कमजोर पार्ने प्रयास गरिरहेको आरोप लगाए।

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य केबी राना, गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेल, प्रदेशका निवर्तमान अध्यक्ष नारायण शर्मा, नवलपुरका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्याय, पूर्व अध्यक्ष होमराज रानाभाट, सल्लाहकार घनश्याम बगाले, सञ्चार विज्ञ डा. भूमिराज चापागाईं, नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष सागर पोख्रेल, नेपाल प्रेस युनियन नवलपुरका सभापति खगराज सापकोटा, प्रेस चौतारी नेपाल नवलपुरका अध्यक्ष तीर्थराज डुम्रे तथा प्रेस सेन्टर नेपाल नवलपुरका अध्यक्ष प्रीतम भुजेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

साधारणसभाले कोषाध्यक्षको आर्थिक प्रतिवेदन, सचिवको संगठनात्मक प्रतिवेदन तथा अध्यक्षको वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा अनुमोदन गरेको सचिव आशिष रेग्मीले जानकारी दिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको