गैंडाकोट, १६ असार । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैंडाकोटमा अवस्थित अभियान कृषि सहकारी संस्था लिमिटेडकोआयोजनामा प्राथमिक स्वास्थ्य उपचार सम्बन्धी सचेतना कार्यक्रम आयोजना हुने भएको छ। सहकारीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत शेयर सदस्य तथा स्थानीय समुदायलाई लक्षित गरी उक्त कार्यक्रम गर्न लागेको हो।
संस्थाका अध्यक्ष कार्कीका अनुसार भोलि अर्थात् २०८३ असार १७ गते गैंडाकोट-६ मा रहेको नमुना शिवनगर खानेपानीको सभाहलमा कार्यक्रम संचालन गरिनेछ। दैनिक जीवनमा आइपर्ने आकस्मिक दुर्घटना वा स्वास्थ्य समस्याका बेला तत्काल अपनाउनुपर्ने प्राथमिक उपचारका विधिहरूबारे नागरिकलाई सचेत र सक्षम बनाउने उद्देश्यले कार्यक्रमको परिकल्पना गरिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो।
उक्त सचेतना कार्यक्रममा प्राविधिक सहयोग भने एन्जल फाउण्डेसन (शाखा कार्यालय-भण्डारा, चितवन) ले गर्नेछ। कार्यक्रममा फाउण्डेसनका दक्ष स्वास्थ्यकर्मी तथा प्राविधिकहरूले प्रयोगात्मक र सैद्धान्तिक रूपमा प्राथमिक उपचारका सीपहरू सिकाउने र प्रशिक्षण दिने बताइएको छ।
वि.सं. २०८२ मा स्थापना भएको यस अभियान कृषि सहकारी संस्था लिमिटेडले कृषि क्षेत्रको प्रवर्द्धनका साथै विभिन्न रचनात्मक एवं चेतनामूलक कार्यक्रमहरू गर्दै आइरहेको छ। भोलि हुने यस महत्वपूर्ण कार्यक्रममा सक्रिय सहभागिताका लागि संस्थाले सम्पूर्ण सरोकारवाला तथा स्थानीय बासिन्दाहरूमा अनुरोध समेत गरेको छ।







