स्व. रामप्रसाद कडेलको ३५औं स्मृति दिवस: मञ्जुवा सामुदायिक वनद्वारा बृहत् वृक्षारोपण

गैंडाकोट, १६ असार । मञ्जुवा सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट १/२ ले संस्थाका संस्थापक अगुवा स्वर्गीय रामप्रसाद कडेलको ३५औं स्मृति दिवसको अवसरमा एक बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। वन क्षेत्रको संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा ४०० भन्दा बढी विभिन्न प्रजातिका फलफूल तथा अन्य बिरुवाहरू रोपण गरिएको छ।

 

वि.सं. २०४७ सालमा मञ्जुवा सामुदायिक वन स्थापनाका लागि वृक्षारोपण गर्ने क्रममा नदीमा डुबेर कँडेलको असामयिक निधन भएको थियो। सामुदायिक वन स्थापनाका मुख्य अभियन्ता कँडेलको योगदानको कदर गर्दै समूहले हरेक वर्ष उनको सम्झनामा वन क्षेत्रभित्र वृक्षारोपण गर्दै आएको छ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै सब-डिभिजनल वन कार्यालय गैंडाकोटका प्रमुख सन्तोष मिश्रले वन र पर्यावरण संरक्षणमा मञ्जुवा सामुदायिक वनले पुर्‍याएको योगदानको प्रशंसा गरे। यस्तै, कार्यक्रमका विशेष अतिथि उद्योग वाणिज्य संघ गैंडाकोटका महासचिव तेज नारायण पाण्डेले वातावरण सन्तुलन र उद्यमशीलता दुवैका लागि वृक्षारोपण महत्त्वपूर्ण रहेको औंल्याए।

 

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, पर्यावरणप्रेमी तथा सर्वसाधारण उपभोक्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। मञ्जुवा सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष देवीमाया गुरुङको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको सहजीकरण समूहका सचिव केशव प्रसाद तिवारीले गरेका थिए। उपभोक्ता समूहले रोपिएका बिरुवाहरूको संरक्षण र गोडमेलमा विशेष ध्यान दिइने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको