अभियान कृषि सहकारीद्वारा प्राथमिक स्वास्थ्य उपचार सचेतना कार्यक्रम सम्पन्न

गैंडाकोट, १७ असार । गैंडाकोटमा अवस्थित अभियान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा प्राथमिक स्वास्थ्य उपचार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। सहकारीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सेयर सदस्य तथा स्थानीय समुदायलाई लक्षित गरी उक्त कार्यक्रमको आयोजना गरेको हो।

दैनिक जीवनमा आइपर्ने आकस्मिक दुर्घटना वा स्वास्थ्य समस्याका बेला तत्काल अपनाउनुपर्ने प्राथमिक उपचारका विधिहरूबारे नागरिकलाई सचेत र सक्षम बनाउने उद्देश्यले कार्यक्रम गरिएको संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति ढकबहादुर कार्कीले जानकारी दिए।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित गैंडाकोट नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सुभाष चापागाईंले सहकारीहरूले आर्थिक कारोबार मात्र नभई समुदायको हितका लागि यस्ता जीवनोपयोगी कार्यक्रमहरू गर्नु सराहनीय भएको बताए। उनले स्थानीय सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको उल्लेख गर्दै प्राथमिक उपचारको ज्ञानले धेरैको ज्यान जोगाउन सक्ने भएकाले यसलाई तल्लो तहसम्म पुर्‍याउनुपर्नेमा जोड दिए।

 

त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथि गैंडाकोट सहकारी समन्वय मञ्चका अध्यक्ष बाबुराम खनालले सहकारीको मुख्य सिद्धान्त नै समुदायप्रतिको चासो भएको चर्चा गर्दै अभियान कृषि सहकारीले उदाहरणीय कार्य गरेको बताए। उनले नगरभित्रका सहकारीहरू बीचको समन्वय र सहकार्यमार्फत यस्ता सामाजिक कार्यहरूलाई थप प्रभावकारी बनाउन सकिने धारणा व्यक्त गरे।

विशेष अतिथिका रूपमा उपस्थित सहकारी अभियन्ता वेदप्रसाद गौडेलले कृषि सहकारीहरू उत्पादन र बजारीकरणमा मात्र सीमित नभई आफ्ना सदस्यहरूको सचेतना र स्वास्थ्य रक्षामा पनि लाग्नुपर्ने विचार राखे। उनले स्वस्थ किसानले मात्र कृषि क्षेत्रको विकास गर्न सक्ने भन्दै कार्यक्रमको महत्वमाथि प्रकाश पारे।
सचेतना कार्यक्रमको प्राविधिक सहयोग भने एन्जल फाउण्डेसन (शाखा कार्यालय-भण्डारा, चितवन) ले गरेको थियो। कार्यक्रममा फाउण्डेसनका दक्ष स्वास्थ्यकर्मी तथा प्राविधिकहरूले प्रयोगात्मक र सैद्धान्तिक रूपमा प्राथमिक उपचारका सीपहरु सहभागीहरूलाई सिकाएका थिए।

वि.सं. २०८२ मा स्थापना भएको यस अभियान कृषि सहकारी संस्था लिमिटेडले कृषि क्षेत्रको प्रवर्द्धनका साथै विभिन्न रचनात्मक एवं चेतनामूलक कार्यक्रमहरू गर्दै आइरहेको संस्थाका सचिव तथा कार्यक्रम सञ्चालक सुजन अधिकारीले जानकारी दिए। संस्थाका उपाध्यक्ष गुणाकर रेग्मीले उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए भने कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको