गैंडाकोट, असार २१ । नवलपुरको गैंडाकोट-१, धारापानीस्थित भगवान वराह दिव्य धाम श्वेत वराह मन्दिर सेवा समितिको नवौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन मन्दिर परिसरमा भव्य रूपमा सम्पन्न भएको छ।
अधिवेशनले वेदप्रसाद गौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। समितिका अध्यक्ष बेदप्रसाद गौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गैंडाकोट नगरपालिका-१ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद रेग्मी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणमा वडाको पूर्ण साथ रहन्छ: वडा अध्यक्ष रेग्मी
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं वडा अध्यक्ष सुरेन्द्र प्रसाद रेग्मीले श्वेत वराह मन्दिर ऐतिहासिक र धार्मिक आस्थाको केन्द्र मात्र नभई स्थानीय पर्यटन र सांस्कृतिक पहिचानको महत्वपूर्ण सम्पदा भएको उल्लेख गर्दै बदलिँदो समयसँगै हामीले हाम्रा धार्मिक स्थलहरूलाई आध्यात्मिक सन्तुष्टिका साथै देश-विदेशका पर्यटक आकर्षित गर्ने ‘धार्मिक पर्यटन केन्द्र’ का रूपमा विकास गर्न जरुरी छ, वडा अध्यक्ष रेग्मीले भने, धारापानी क्षेत्रको वातावरणीय सुन्दरता र यो मन्दिरको महिमालाई जोडेर बृहत्तर गुरुयोजना निर्माण गर्न आवश्यक छ। यसको पूर्वाधार विकास र प्रवर्द्धनका लागि वडा कार्यालयको तर्फबाट बजेट तथा नीतिगत रूपमा आवश्यक सम्पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु।”
साधारण सभापछि सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि पुनः वेदप्रसाद गौडेलको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत निर्वाचित गरेको छ। नयाँ समितिमा अधिकांश पुराना पदाधिकारी तथा सदस्यहरूले नै निरन्तरता पाएका छन्। जस अनुसार
अध्यक्ष वेदप्रसाद गौडेल,उपाध्यक्ष राम बहादुर सापकोटा,सचि वपरमानन्द चालिसे,कोषाध्यक्ष ढगेन्द्र राज सापकोटा,
सह-सचिव शक्ति प्रसाद कंडेल,सह-कोषाध्यक्ष छविलाल चापागाई र सदस्यहरू प्रेम बहादुर अधिकारी, सीता भट्टराई, नेत्रलाल श्रेष्ठ, शिला दवाडी, बसन्ती ढुङ्गाना, रुद्र प्रसाद आचार्य र फुलकुमारी ढकाल ‘सीता’ रहेका छन् । लेखा समिति: संयोजकमा यम नारायण चालिसे तथा सदस्यहरूमा पार्वती ढकाल र धनकुमारी खत्री निर्वाचित भएका छन्। उक्त निर्वाचन प्रक्रियालाई सम्पन्न गर्न गोविन्द सुवेदीको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो, जसको सदस्यहरूमा खेमप्रसाद आचार्य र हरिराम सापकोटा रहेका थिए। निर्वाचन मण्डलका अनुसार नयाँ कार्यसमिति पूर्ण रूपमा सर्वसम्मत चयन गरिएको हो। पुनः अध्यक्षमा निर्वाचित भएका वेदप्रसाद गौडेलले आफू र आफ्नो टिमप्रति विश्वास गर्ने सम्पूर्ण भक्तजन, आजीवन सदस्य र स्थानीयबासीप्रति आभार प्रकट गरे। हामीलाई पुनः सुम्पिएको यो जिम्मेवारी मन्दिरको संरक्षण र विकासका लागि एउटा नयाँ अवसर हो,अध्यक्ष गौडेलले आगामी दिनमा हामी मन्दिरको भौतिक पूर्वाधार सुधार, भक्तजनका लागि खानेपानी, शौचालय तथा बस्ने ठाउँको सहज व्यवस्थापन र मन्दिरको सामाजिक उत्तरदायित्वलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउनेछौँ। धारापानीलाई नेपालकै एक उत्कृष्ट धार्मिक गन्तव्य बनाउन सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने संकल्प गर्दछु। सभाको बन्द सत्रमा समितिको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा समितिको प्रतिवेदनमाथि विस्तृत छलफल गरी आवश्यक सुझावसहित पारित गरिएको थियो। कार्यक्रममा कोषाध्यक्ष ढगेन्द्र राज सापकोटाले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक गजेन्द्र लम्सालले लेखा समितिको प्रतिवेदन सार्वजनिक गरेका थिए।
कार्यक्रमको सुरुवातमा उपाध्यक्ष राम बहादुर सापकोटाले स्वागत मन्तव्य राख्दै मन्दिरको धार्मिक, सांस्कृतिक तथा सामाजिक योगदानलाई अझ प्रभावकारी बनाउन सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए भने कार्यक्रमको सञ्चालन सचिव परमानन्द चालिसेले गरेका थिए।
उक्त अवसरमा गैंडाकोट ५ का वडाध्यक्ष रत्न प्रसाद सापकोटा, कार्यपालिका सदस्य शान्ती न्यौपाने, समाजसेवी एवं पूर्व गाविस उपाध्यक्ष टोलनाथ घिमिरे, स्थानीय बुद्धिजीवी, टोल विकास संस्थाका प्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।







