गैंडाकोट, असार २१ । गैंडाकोट १ मा रहेको प्रतिभा पुस्तकालय तथा अध्ययन केन्द्रको १८ औं साधारण सभा तथा छैठौं अधिवेशन पुस्तकालयकै सभाहलमा आइतबार सम्पन्न भएको छ।
केन्द्रका अध्यक्ष शशिचन्द्र सिग्देलको सभापतित्वमा संचालन भएको कार्यक्रममा गैंडाकोट वडा नं. १ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद रेग्मी प्रमुख अतिथि थिए। कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि एवं वडा अध्यक्ष सुरेन्द्र प्रसाद रेग्मीले समाज रूपान्तरण र बौद्धिक विकासमा पुस्तकालयको भूमिका अतुलनीय हुने बताए। उनले भने: प्रतिभा पुस्तकालय यस क्षेत्रको प्राज्ञिक पहिचान हो। नयाँ पुस्तालाई अध्ययन संस्कृतिमा जोड्न पुस्तकालयले अझै राम्रा कार्यहरू गर्नुपर्छ। यसको भौतिक तथा प्राविधिक विकासका लागि वडा कार्यालयको तर्फबाट पूर्ण सहयोग र समन्वय रहने प्रतिबद्धता म व्यक्त गर्दछु।
साधारण सभाको समापनसँगै भएको छैठौं अधिवेशनले संस्थापक अध्यक्ष समेत रहेका झलककाजी पौडेललाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गर्यो। पुस्तकालयको नवगठित कार्यसमितिमा उपाध्यक्ष प्रेमकुमार पौडेल,सचिव ऋषिराम भण्डारी, कोषाध्यक्ष शारदा भण्डारी र सदस्यहरू इन्द्रकान्त रेग्मी, जयनारायण शर्मा, नेत्रनारायण शर्मा पौडेल, बासुदेव घिमिरे र बालकृष्ण घिमिरे रहेका छन्। पुनः अध्यक्षमा निर्वाचित भएपछि आफ्नो प्रतिबद्धता जाहेर गर्दै नवनियुक्त अध्यक्ष झलककाजी पौडेलले सम्पूर्ण सदस्यहरू प्रति आभार प्रकट गरे। आगामी कार्यकालका योजनाबारे बोल्दै उनले भने मलाई पुनः विश्वास गरेर यो जिम्मेवारी सुम्पिने सम्पूर्णमा धन्यवाद दिन चाहन्छु। अबको मेरो मुख्य प्राथमिकता पुस्तकालयलाई समयसापेक्ष बनाउँदै ‘ई-लाइब्रेरी’ (डिजिटल पुस्तकालय) का रूपमा विकास गर्नु र युवा पुस्तालाई यहाँ आकर्षित गर्नु हुनेछ। हामी सबै मिलेर यस संस्थालाई नयाँ उचाइमा पुर्याउने छौँ।
उक्त कार्यक्रममा विशेष अतिथिका रूपमा निवर्तमान वडाध्यक्ष हरिप्रसाद सापकोटा, धार्मिक तथा सामाजिक व्यक्तित्व वेदप्रसाद गौडेल,गणेश अधिकारी, विश्वनाथ सापकोटा, सन्तोष वाग्ले, केशव प्रसाद ढकाल लगायत अतिथिहरूको उपस्थितका साथै विभिन्न संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधि तथा केन्द्रका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो। १८औँ साधारण सभामा उपस्थित सम्पूर्णलाई सीता काफ्लेले स्वागत मन्तव्य र सचिव अम्बिका प्रसाद घिमिरेले कार्यक्रमलाई सहजीकरण गरेका थिए।







