नवलपुर, २७ असार । वे ग्रुप नवलपुरको आयोजनामा शनिबार गैंडाकोट-१ स्थित प्रतिभा पुस्तकालयको सभाहलमा विपद् व्यवस्थापन सम्बन्धी एकदिवसीय अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
मनसुनजन्य विपद्को जोखिम बढिरहेका बेला समुदायस्तरमा सचेतना जगाउने र पूर्वतयारीलाई चुस्त राख्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो। वे ग्रुप नवलपुरका अध्यक्ष प्रकाश अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सुरेन्द्रप्रसाद रेग्मी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण पितौजीका दक्ष प्रशिक्षकहरूले विपद् व्यवस्थापन, उद्धार कार्य र प्राथमिक उपचारका विषयमा प्रयोगात्मक तथा सैद्धान्तिक प्रशिक्षण दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं वडाध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले प्राकृतिक विपद् बाजा बजाएर नआउने भएकाले यसबाट बच्न पूर्वतयारी र सचेतना नै सबैभन्दा ठूलो हतियार भएको बताउँदै अहिले वर्षातको समय छ, बाढी, पहिरो र डुबानको जोखिम उच्च छ, वडाध्यक्ष रेग्मीले भने स्थानीय सरकारले आफ्नो तर्फबाट स्रोत साधनले भ्याएसम्म तयारी गरिरहेको छ, तर विपद्को घडीमा सबैभन्दा पहिले समुदाय नै ब्युँझनु पर्नेमा जोड दिँदै वे ग्रुपले यो संवेदनशील समयमा सुरक्षा निकायलाई जोडेर नागरिकस्तरमा जुन प्रशिक्षण चलाएको छ, यो निकै प्रशंसनीय र समसामयिक छ। सिकेका सीपलाई व्यवहारमा उतार्न म सबैमा उनले आग्रह गरे।
कार्यक्रमका सभापति एवं वे ग्रुप नवलपुरका अध्यक्ष प्रकाश अधिकारीले संस्थाले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै आएको उल्लेख गर्दै अधिकारीले वे ग्रुपले समाजमा रहेका हरेक क्षेत्र र आवश्यकतालाई समेट्दै रचनात्मक एवं सामाजिक कार्यहरू गर्दै आएको र हामी कुरामा भन्दा काममा विश्वास गर्छौ, त्यसैले प्रत्येक हप्ताको शनिबार हामी कुनै न कुनै सामाजिक क्रियाकलापमा प्रत्यक्ष जोडिने गरेका छौँ। आजको यो विपद् व्यवस्थापन सम्बन्धी प्रशिक्षण पनि नागरिकको जीवन रक्षा र सचेतनासँग जोडिएको हुनाले यसलाई हामीले प्राथमिकतामा राखेका हौँ।
कार्यक्रममा सशस्त्र प्रहरी प्रमुख रामचन्द्र खड्काले विपद्को समयमा सुरक्षा निकाय र नागरिकबीचको समन्वय कसरी चुस्त राख्ने भन्नेबारे प्रष्ट पारेका थिए। उक्त अवसरमा सामाजिक व्यक्तित्वहरू भीमलाल कँडेल, ऋषिराम भण्डारी, हरेराम रेग्मी, सुजाता सुवेदी, दिप्सन पोखरेल, दुर्गादत्त गौतम, यदुमणि खरेल, कमल गौतम, नेत्रनारायण पौडेल, झलककाजी पौडेल, अग्निधर गौतम, प्रदीप श्रेष्ठ, साजन गुरुङ, शारदा भण्डारी, गीता पौडेल, शोभा सिग्देल, भीमबहादुर पराजुली, बालकृष्ण घिमिरे लगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा स्थानीय सर्वसाधारणहरूको बाक्लो उपस्थिति रहेको थियो। हरेक हप्ताको शनिबार समाजका विविध पक्षलाई समेटेर सामाजिक काम गर्दै आएको वे ग्रुप नवलपुरको यो अभियानलाई स्थानीयवासीले निकै सकारात्मक रूपमा लिएका छन्।







