गैंडाकोट, २७ असार । नवलपुरको गैँडाकोट निवासी कलाकार मुक्ति अधिकारी दुई दशकभन्दा लामो समयदेखि नेपाली कला क्षेत्रमा सक्रिय रहँदै आएका छन्। चितवनको नारायणी कला मन्दिर, नारायणगढबाट नृत्य र अभिनयको औपचारिक प्रशिक्षण लिएका अधिकारीले निरन्तर आफ्नो कला प्रस्तुत गर्दै दर्शक तथा स्रोतामाझ सक्षम कलाकारका रूपमा परिचय बनाउन सफल भएका हुन्।
दुई दशक लामो कलायात्राका क्रममा उनले दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। यसका साथै नेपाली कथानक चलचित्र ‘साली कस्को भेनाको’ निर्माण गरेर उनले चलचित्र क्षेत्रमा समेत आफ्नो बलियो योगदान दिएका छन्।
यसैबीच, कलाकार अधिकारी नयाँ म्युजिक भिडियो ‘डिम्पल गालैमा’ मार्फत पुनः दर्शकमाझ आउने तयारीमा जुटेका छन्। उक्त गीतमा उनलाई चर्चित कलाकार बिना राहुतले अभिनयमा साथ दिएकी छिन्। म्युजिक भिडियोको छायांकन काठमाडौंको गोदावरी क्षेत्रमा सम्पन्न भएको निर्माण पक्षले जनाएको छ।
‘डिम्पल गालैमा’ बोलको उक्त गीत आगामी साउन २ गते ‘कला हब’ युट्युब च्यानलबाट सार्वजनिक गरिने तयारी छ।
म्युजिक भिडियोमा गायक सौगात जङ थापा र गायिका सिम्रन परियारको स्वर रहेको छ भने यसलाई जेरी भण्डारीले निर्देशन गरेका हुन्। भिडियोको मुख्य भूमिकामा मुक्ति अधिकारी र बिना राहुत फिचर्ड छन्।
यो गीत तथा भिडियोले उत्कृष्ट दृश्य र प्रस्तुतिमार्फत दर्शकलाई भरपुर मनोरञ्जन दिँदै सबैको मन जित्ने अपेक्षा निर्माण टिमले राखेको छ।







