गैंडाकोट, २९ असार । मुकुन्द सेन सामुदायिक विकास प्रतिष्ठान नेपाल, गैंडाकोट-४ द्वारा निर्मित ‘मुकुन्दसेन पार्क तथा सूर्यभक्त बाटिका’को आज एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ। गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले पार्कको औपचारिक उद्घाटन गरेका हुन्।
गैंडाकोट वडा नम्बर ४ मा अवस्थित पार्कको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा नगरप्रमुख अधिकारीले पार्क निर्माणले नगरको शोभा बढाएको बताए। उनले भने, यस पार्कले गैंडाकोटको सुन्दरता मात्र बढाएको छैन, नगरवासीलाई स्वच्छ र शान्त वातावरणमा रमाउने उत्कृष्ट गन्तव्य समेत दिएको छ। यसलाई गैंडाकोटकै नमुना र उत्कृष्ट पार्कका रूपमा विकास गर्न नगरपालिकाको तर्फबाट निरन्तर र भरपुर सहयोग रहने प्रतिबद्धता उनले व्यक्त गरे।
वि.सं. २०७४ सालदेखि निर्माण कार्य सुरु भएको पार्क दुई बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको छ। हालसम्म पार्क तथा बाटिका निर्माणमा करिब ४० लाख रुपैयाँ खर्च भइसकेको आयोजकले जनाएको छ। नगरपालिका, वडा कार्यालय, स्वर्गीय समाजसेवी सूर्यभक्त अधिकारीको परिवार तथा विभिन्न सामाजिक संघसंस्था र चन्दादाताहरूको आर्थिक तथा भौतिक सहयोगमा पार्क निर्माण सम्पन्न भएको हो।
कार्यक्रमको सभापतित्व गरेका पार्क निर्माण समितिका अध्यक्ष दिनेशराज न्यौपानेले सबैको साझा प्रयासले पार्कले मूर्त रूप लिएको बताए। मन्तव्यका क्रममा उनले भने, “वि.सं. २०७४ सालदेखिको हाम्रो निरन्तर प्रयास र सबैको साथले आज यो पार्क सञ्चालनमा आएको छ। दाताहरू, नगरपालिका, वडा कार्यालय र स्थानीय बासिन्दाको निःस्वार्थ सहयोगबिना यो सम्भव थिएन। आगामी दिनमा यसलाई थप व्यवस्थित र पर्यटकीय आकर्षणको केन्द्र बनाउन हामी निरन्तर लाग्नेछौं ।
उद्घाटन समारोहमा गैंडाकोट साविक गाविसका पूर्व उपाध्यक्ष टोलानाथ घिमिरे, वडा नम्बर ४ का वडाध्यक्ष तेजप्रसाद घिमिरे र प्रतिष्ठानका अध्यक्ष निर्मल पाण्डेको विशेष उपस्थिति रहेको थियो। त्यसैगरी संस्थाका सल्लाहकारहरू कृष्णप्रसाद न्यौपाने, डिल्लीप्रसाद न्यौपाने, एकदेव रिमाल, तीर्थराज रिमाल, रामचन्द्र घिमिरेलगायतका अतिथिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन तथा सहजीकरण प्रकाश अधिकारीले गरेका थिए। पार्कलाई मनोरञ्जन र विश्रामका लागि मात्र नभई स्वास्थ्य प्रवर्द्धनको केन्द्रका रूपमा समेत विकास गरिएको छ। पार्कभित्र सर्वसाधारणका लागि व्यायाम (एक्ससाइज) गर्न मिल्ने विभिन्न आधुनिक खुला व्यायामशाला (Open Gym) का सामग्रीहरूसमेत जडान गरिएको छ। यसले गर्दा बिहान र बेलुकाको समयमा पार्कमा आउने स्थानीय बासिन्दा तथा आगन्तुकहरूलाई शारीरिक व्यायाम गर्न र स्वस्थ रहन थप सहज हुने निर्माण समितिले जनाएको छ। नयाँ पार्कको उद्घाटनसँगै यस क्षेत्रका स्थानीय बासिन्दा तथा आन्तरिक पर्यटकहरूलाई मनोरञ्जन र विश्रामका लागि सहज हुने अपेक्षा गरिएको छ।








