एम्स एजुकेसनको मुख्य कार्यालय गैंडाकोटमा स्थानान्तरण, वडाध्यक्ष सापकोटाद्वारा उद्घाटन

गैंडाकोट, असार ३० । भरतपुरमा स्थापना भई शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आएको ‘एम्स एजुकेसन’ले आफ्नो मुख्य कार्यालय नवलपुरको गैंडाकोटमा स्थानान्तरण गरेको छ। केही वर्षअघि शाखा कार्यालयका रूपमा गैंडाकोटमा सेवा विस्तार गरेको एम्सले मङ्गलबार एक विशेष कार्यक्रमका बीच भरतपुरमा रहेको मुख्य कार्यालयलाई समेत गैंडाकोटमै गाभेर एकीकृत रूपमा सेवा सुरु गरेको हो।

 

 

अब एम्स एजुकेसनको सम्पूर्ण मुख्य प्रशासनिक तथा परामर्श सेवा गैंडाकोटबाटै सञ्चालन हुनेछ। नयाँ व्यवस्थापन सहितको मुख्य कार्यालयको मंगलबार गैंडाकोट नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटाले रिवन काटेर उद्घाटन गरे ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सापकोटाले आफ्नो मन्तव्य राख्दै शैक्षिक परामर्शदाताहरू व्यावसायिक मात्र नभएर जिम्मेवार हुनुपर्नेमा जोड दिँदै वैदेशिक शिक्षा र उच्च शिक्षाका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरूको संख्या दिनानुदिन बढ्दो रहेको अवस्थामा कतिपय परामर्शदाताहरूले सही सूचना नदिँदा विद्यार्थी र अभिभावकहरू ठगिने, अलपत्र पर्ने र मानसिक तनावमा गुज्रिने गरेका घटनाहरू पनि बाहिर आउने गरेकाले शैक्षिक परामर्शदाता संस्था केवल नाफा कमाउने थलो मात्र होइन, यो त देशको भविष्य बोकेका युवाहरूको मार्गदर्शक पनि हो। त्यसैले कुनै पनि हालतमा विद्यार्थीको शैक्षिक भविष्यमाथि खेलवाड गर्न नपाइने आफ्नो मन्तव्यमा बताए।

 

 

कार्यक्रममा एम्स एजुकेसनका सञ्चालक कृष्ण कँडेलले संस्थाको उद्देश्य र मुख्य कार्यालय स्थानान्तरण गर्नुको कारणबारे प्रष्ट पार्दै उनले बिना दर्ता सञ्चालनमा रहेका कन्सल्टेन्सीहरूमाथि राज्यले निगरानी बढाउनुपर्ने माग समेत राख्नुभयो।

सञ्चालक कृष्ण कँडेलको मन्तव्य:

“अहिले सरकारले आफ्नै नगर, जिल्ला र प्रदेशमा स्थापित भएर सेवा दिनुपर्ने जुन विकेन्द्रीकरणको नीति ल्याएको छ, त्यसैको सहर्ष स्वागत गर्दै हामीले चितवनको मुख्य कार्यालयलाई गैंडाकोटमा गाभेर यसलाई नै केन्द्रीय कार्यालयको रूपमा विकास गरेका हौं। हामी मोफसलमै बसेर पनि अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट शैक्षिक परामर्श दिन सक्षम छौं भन्ने प्रमाणित गर्न चाहन्छौं। विद्यार्थीहरूको शैक्षिक योग्यता र क्षमता अनुसार कुन देश र कुन विश्वविद्यालय उपयुक्त हुन्छ, त्यसमा हामी पूर्ण इमानदारिताका साथ सहजीकरण गर्ने बताउँदै अहिले बजारमा च्याउ जस्तै एजुकेसन कन्सल्टेन्सीहरू खुल्ने गरेका छन्। तर, कतिपय संस्थाहरू आवश्यक कानुनी प्रक्रिया र दर्ताबिना नै सञ्चालन भइरहेका छन्, जसले गर्दा समग्र शैक्षिक परामर्श क्षेत्रकै बद्नाम भइरहेको छ। राज्य र स्थानीय प्रशासनले त्यस्ता गैरकानुनी र दर्ताविहीन कन्सल्टेन्सीहरूमाथि तत्काल कडा निगरानी र कारबाही गर्नुपर्छ। हामी कानुनसम्मत र मर्यादित व्यवसायको पक्षमा छौं।

 

 

उद्घाटन कार्यक्रममा चितवन र नवलपुर क्षेत्रका प्रतिष्ठित उद्योगी एवं शैक्षिक व्यवसायीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै चितवन उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष जनक पौडेल र गैंडाकोट जिल्ला उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष छवि कँडेलले मोफसलमा व्यावसायिक चहलपहल बढ्नु सकारात्मक रहेको बताए। त्यस्तै, इक्यान (ECAN) चितवनका अध्यक्ष भोजबहादुर खड्का तथा उपाध्यक्ष मेघराज कण्डेलले एम्स एजुकेसनले जस्तै अन्य संस्थाहरूले पनि मर्यादित र नीति-नियमभित्र रहेर सेवा दिनुपर्ने धारणा राखे ।

कार्यक्रममा वडा नम्बर ५ का निवर्तमान अध्यक्ष नवराज कँडेल, समुद्र अर्याल, हेमराज सिग्देल, अर्जुन पराजुली लगायत एम्स एजुकेसनका अन्य पदाधिकारी, स्थानीय बुद्धिजीवी, पत्रकार तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। संस्थाले विभिन्न देशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीहरूलाई परामर्श, भाषा कक्षा र भिसा प्रोसेसिङमा सहजीकरण गर्दै आएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको