गैंडाकोट, असार ३१। मुकुन्दसेन सामुदायिक विकास प्रतिष्ठान, नेपाल (गैंडाकोट–४, नवलपुर) को नवनिर्वाचित कार्यसमितिको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
निर्वाचन समितिका अध्यक्ष टोलनाथ घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगरप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि मदनभक्त अधिकारी र वडा नम्बर ४ का वडाअध्यक्ष तेजप्रसाद घिमिरे विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा निर्वाचन समितिका अध्यक्ष टोलनाथ घिमिरेले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो। नवगठित कार्यसमितिमा तिर्थराज रिमाल अध्यक्ष, कृष्णप्रसाद पराजुली उपाध्यक्ष, राम काप्री सचिव, श्रीराम सुवेदी कोषाध्यक्ष तथा प्रकाश अधिकारी सहसचिवमा निर्वाचित हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा निर्मलराज पाण्डे, मिलनराज घिमिरे, ईश्वरीप्रसाद घिमिरे, दिनेशराज न्यौपाने, प्रकाश पौडेल, मुकुन्द न्यौपाने र टिकाराम ओझा निर्वाचित हुनुभएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं नगरप्रमुख मदनभक्त अधिकारीले नयाँ नेतृत्वले प्रतिष्ठानलाई अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले संस्थालाई यहाँसम्म पुर्याउन पुराना पदाधिकारीहरूले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै त्यसलाई सदैव स्मरण गर्नुपर्ने धारणा राख्नुभयो। साथै, नवनिर्वाचित पदाधिकारीहरूले संस्थाको उद्देश्य र लक्ष्यलाई प्रभावकारी रूपमा अघि बढाउन सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो।
<span;>नवनिर्वाचित अध्यक्ष तिर्थराज रिमाल ले पूर्व पदाधिकारीहरूको योगदानप्रति सम्मान व्यक्त गर्दै प्रतिष्ठानप्रति आफ्नो गहिरो माया र जिम्मेवारी रहेको बताउनुभयो। उहाँले कुनै पनि व्यक्ति एक्लैले संस्थालाई अघि बढाउन नसक्ने भएकाले सबै सदस्य, शुभेच्छुक र समुदायको सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो। साथै, संस्थाको प्रणाली (सिस्टम) लाई सुदृढ बनाउँदै प्रतिष्ठानलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको समापन गर्दै निर्वाचन समितिका अध्यक्ष टोलनाथ घिमिरे ले प्रतिष्ठानले विगतदेखि समाज विकासमा खेलेको महत्वपूर्ण भूमिकाको समीक्षा गर्नुभयो। उहाँले कठिन परिस्थितिका बीच स्थापना भएको संस्थाले निरन्तर समाजसेवामूलक कार्य गर्दै उल्लेखनीय सफलता हासिल गरेको स्मरण गराउँदै आगामी दिनमा नयाँ नेतृत्वले त्यसलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो। निर्वाचन समितिका सदस्य एकदेव रिमालले सहजीकरण गर्नुभएको कार्यक्रममा प्रतिष्ठानका निवर्तमान अध्यक्ष निर्मल पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।








