गैंडाकोट, श्रावण ५। गैंडाकोट वडा नं. ८ निवासी गायिका पवित्रा पौड्यालले यस वर्षको हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो नयाँ तीज गीतसंग्रह ‘बाबाको बारी’ बजारमा ल्याएकी छन्।
विगतका वर्षहरूमा पनि थुप्रै मौलिक तीज गीतहरू सिर्जना गरिसकेकी पौड्यालले यसपटक पनि समाज, संस्कृति र परम्परालाई समेट्दै नारीहरूको धार्मिक सहिष्णुता र भावलाई उजागर गर्ने गरी नयाँ कोसेली पस्किएकी हुन्।
पवित्रा पौड्यालकै प्रस्तुतिमा तयार पारिएको यस गीतमा स्वयम् पवित्रा पौड्यालको स्वर, शब्द तथा संगीत रहेको छ। आफ्ना सिर्जनाहरूमा सधैँ सामाजिक विषयवस्तु र मौलिकतालाई प्राथमिकता दिने पौड्यालको यो एल्बमले नेपाली नारी वर्गको मर्म र भावनालाई गहिरोसँग प्रतिनिधित्व गर्ने विश्वास लिइएको छ। गीतको दृश्य (भिडियो) तर्फ चर्चित मोडल स्मारिका ढकाल र बालकलाकार प्रियान्सु सापकोटाको जीवन्त अभिनय देख्न सकिन्छ। निर्देशक तथा मुख्य नृत्य निर्देशक राजकुमार के. विश्वकर्माको निर्देशनमा तयार भएको उक्त भिडियोमा सुरक्षा शाही ठकुरीले सहायक नृत्य निर्देशकको भूमिका निर्वाह गरेकी छन्।
नेपाली नारीहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा बजारमा आएको ‘बाबाको बारी’ ले नेपाली मौलिक संस्कृति, पारिवारिक सम्बन्ध र परम्परालाई जोगाउनुका साथै सम्पूर्ण दर्शक तथा श्रोताहरूको मन जित्ने अपेक्षा गरिएको छ।







