गैंडाकोट, भाद्र १२। रसुवागढी लगायत देशका विभिन्न भू-भागमा आएको विनाशकारी बाढी-पहिरोका कारण उत्पन्न राष्ट्रिय विपत्तिलाई ध्यानमा राख्दै रेडियो संकेत ९३ मेगाहर्जले आयोजना गर्न लागेको “खुला तीज गीत प्रतियोगिता २०८३” पूर्ण रूपमा स्थगन गरिएको छ।
देशव्यापी रूपमा बाढी-पहिरोले ठूलो जनधनको क्षति पुर्याएको र सिंगो राष्ट्र शोकमा परेको भन्दै आयोजक रेडियो संकेतले प्रतियोगिता स्थगन गर्ने निर्णय गरेको हो। यस्तो अकल्पनीय र संवेदनशील घडीमा उत्सव वा प्रतिस्पर्धाभन्दा पीडितहरूको उद्धार, राहत तथा पुनर्स्थापनामा जुट्नु पहिलो प्राथमिकता र कर्तव्य भएको आयोजक संस्थाले जनाएको छ।
रेडियो संकेत ९३ मेगाहर्ज परिवारद्वारा जारी विज्ञप्ति अनुसार, कार्यक्रमका लागि अग्रिम नाम दर्ता गराएका महिला समूह तथा संघ-संस्थाका टोलीहरूलाई आगामी वर्ष परिस्थिति अनुकूल भएपछि अझ भव्य रूपमा मञ्चमा प्रस्तुत गराइनेछ।
यसै गरी, कार्यक्रम सञ्चालनका लागि विभिन्न प्रायोजक तथा शुभचिन्तकहरूबाट प्राप्त सम्पूर्ण सहयोग रकमलाई एकीकृत गरी ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मा जम्मा गरिने निर्णय समेत गरिएको छ। विपत्तिमा परेका नागरिकहरूलाई सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रमको रकम राहत कोषमा पठाउन लागिएको आयोजकको भनाइ छ।
रेडियो परिवारले बाढी-पहिरोका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सम्पूर्ण देशवासीलाई यो संकटको समयमा धैर्य धारण गरी राहत र उद्धारमा हातेमालो गर्न अपील गरेको छ।







