काठमाडौँ, भाद्र १२ ।नेपाल जेसीजले रसुवा र नुवाकोटका बाढी प्रभावितहरूको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १० लाख हस्तान्तरण गरेको छ।
‘मानवताको सेवा नै जीवनको उत्कृष्ट कार्य हो’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै देशभरका सबै शाखा र सदस्यहरूको योगदानमा उक्त रकम कोषमा जम्मा गरिएको हो। भदौ १० गते बुधबार बिहान रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो धनजनको क्षति पुर्याएको थियो।
नेपाल जेसीजले बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। विपद्को यस कठिन घडीमा मानवीय सहायता र उद्धार कार्यका लागि देशभरका सबै शाखाहरूलाई फिल्डमै खटिन सर्कुलर जारी गरिएको राष्ट्रिय अध्यक्ष सिनेटर जीवन कार्कीले जानकारी दिनुभयो।
१८ देखि ४० वर्ष उमेर समूहका युवाहरूको अन्तर्राष्ट्रिय संस्था नेपाल जेसीजका देशभर १८६ शाखाहरू सक्रिय छन्। विगत ५ दशकदेखि सामाजिक सेवामा समर्पित यस संस्थाले हाल ‘नेपाल जेसीज प्रोजेक्ट सङ्कल्प २०२६: एकताको सङ्कल्प, रूपान्तरणको यात्रा’ अन्तर्गत ‘Aim Act Achieve’ को अवधारणामा आधारित रहेर आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ।







